
२५ साउन, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट संघीय संसदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
गोरखामा भएको कार्यक्रममा उनले २०७० र २०७४ सालको चुनावमा विभिन्न कारणले उम्मेदवारी दिन नपाएका भन्दै उनले यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए ।
‘२०७४ सालको निर्वाचनमा क्षेत्र नम्वर २ मा डा. बाबुराम भट्टराईलाई सहयोग गर्यौ, हामीले भोट हालेर उहाले जित्नुभयो’, उनले भने, ‘तर, निर्वाचित भएर गएपछि उहाँले कांग्रेसप्रति गरेको व्यवहारले कार्यकर्ताको मन कुँडिएको छ ।’
एउटै निर्वाचन क्षेत्रमा पटक पटक अन्य पार्टीलाई भोट हाल्न सक्ने अवस्था नभएकाले पनि यो पटक क्षेत्र नम्वर २ कांग्रेसले लिने उनले बताए । गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल हुने र दुई पार्टीले आधा आधा सिट लिने भन्दै उनले गोरखा २ बाट आफू उठ्ने घोषणा गरेका हुन् ।
सत्ता गठवन्धनमा रहेका अन्य दलको औचित्य गोरखामा खासै नभएको तर्क गर्दै उनले भने, ‘दुई वटा संघीय निर्वाचन क्षेत्रमध्ये एउटा कांग्रेस र अर्काे माओवादीले लिने र चार वटा प्रदेश निर्वाचन क्षेत्र आधा आधा गर्ने भन्ने छ ।’
कुन क्षेत्र कसले लिने भन्ने बिषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए । ‘त्यो केन्द्रले गर्ने निर्णय हो, हामीले दिएको सल्लाह सुझाव अनुसार केन्द्रले निर्णय गर्छ,’ उनले भने । संघीय निर्वाचन क्षेत्र नम्वर २ कांग्रेसले लिने र क्षेत्र नम्वर १ माओवादीलाई दिने गरी सहमति हुन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4