
२६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौं तह) हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् ।
डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगिता मिश्रा प्रमुख विशेषज्ञको जिम्मेवारीमा थिए । सरकारको यो निर्णयसँगै अब उनीहरु स्वास्थ्यका अतिरिक्त स्वास्थ्य सचिव हुनेछन् ।
‘धेरै समयअघि १२ औं तहका चिकित्सकलाई विशेष सचिव पद दिइको रहेछ । तर, त्यसलाई पछि परिवर्तन गरेर प्रमुख विशेषज्ञ बनाइएको रहेछ,’ मन्त्री खापुङले अनलाइखबरसँग भने, ‘१२ औं तहका कर्मचारी पनि विशिष्ट श्रेणी सचिव सरहको पद हो । प्रमुख विशेषज्ञ भन्ने शब्द उपयुक्त नभएको गुनासो आएपछि त्यसको ठाउँमा परिवर्तन गरेर अतिरिक्त सचिव राखिएको हो ।’
मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव बनाउन गत २२ साउनमा मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । सो प्रस्तावमा नाम अतिरिक्त स्वास्थ्य सचिव राखिए पनि कामकाज भने प्रमुख विशेषज्ञकै हुने मन्त्री खापुङले बताए ।
प्रतिक्रिया 4