
२७ साउन, काठमाडौं । देशकै प्रमुख शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय परिसर फोहोर फाल्ने थलो बन्दै गएको छ । विश्वविद्यालयको कम्पाउण्डभित्रको जंगलमा मात्रै होइन सडक किनारामा समेत फोहोरको पोकाहरु यत्रतत्र छरिएका छन् ।
कीर्तिपुर नगरपालिकाको केही क्षेत्रमा डेढ महिनादेखि फोहोर उठेको छैन । फोहोर नउठेपछि कीर्तिपुरमै बस्ने विद्यार्थी तथा अन्यले घरको फोहोर पोको पारेर विश्वविद्यालय परिसरमा फालेका हुन् ।
त्रिवि क्षेत्रमा बाहिरको फोहोर धेरै आएपछि त्रिवि प्रिन्सिपल कार्यालयले फोहोर फाल्न नपाइने बोर्डसमेत राखेको छ । तर बोर्डकै छेउमा फोहोर फालिएको छ ।
विश्वविद्यालयमा अध्ययनरत अर्जुन रावल कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरु र स्थानीय बासिन्दा समेत यसरी फोहोर फाल्न बाध्य भएको बताउँछन् । ‘यता फोहोर लिन नआएको ४–५ हप्ता भइसक्यो, कोठा भाडामा बस्ने विद्यार्थीहरु, घरबेटीहरु बेलुका लाइन लागेर फोहोर फाल्न जान्छन्,’ रावल भन्छन् ।
आफूले अहिलेसम्म बाहिर फोहोर फालेको छैन भन्ने उनी बताउने उनी कोठामा एकबोरा फोहोर जम्मा भएको बताउँछन् । ‘मेरो कोठामा फोहोर एकबोरा भन्दा धेरै भइसक्यो एकदिन बाहिर चोकमा लगेर राख्न खोज्दा पल्लो घरको अन्टीले गाली गरेपछि फेरि कोठा मै ल्याएर राखेको छु । अब केही दिन बिदा हुँदैछ, कैलाली(घर) जाने बेला भयो । फोहोर कहाँ राख्ने थाहा छैन । नगरपालिकाको गाडी कहिले आउँछ थाहा छैन ।’
उनी जस्तै अर्का विद्यार्थी निशान्त साउद पनि कोठामा फोहोर थुप्रिएको कारण दुर्गन्ध फैलिसकेको बताउँछन्, ‘पढेर आउँदा फोहोरमा भुसुना लागेर हैरान छ । घरबेटीले फोहोर निकालेर टीयूको जंगलमा लगेर फाल भन्दैछन् । अब एक दुई दिनमा पनि लिन आएन भने त्यसै गर्नु पर्ला । ’
समस्या बढ्दैछ : त्रिवि
त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले विश्व विद्यालय परिसरमा फोहोर फाल्ने समस्या बढ्दै गएको बताउँछन् । कीर्तिपुर नगरपालिकासँग यो विषयमा त्रिविको प्रिन्सिपल कार्यालयले कुरा समेत राखेको भन्दै उनले फेरि झकझक्याउने बताए । ‘म आफैं पनि यहाँ क्वार्टरमा बस्छु । यहींनेर आएर फोहोरका पोका फाल्छन् ।’
‘मर्निङ वाक गर्न आउँदा पनि फोहोरको पोका बोकर आएर जंगल, सडकको छेउमा फाल्छन । स्कुटर, मोटरसाइकलको पछाडि बस्ने मान्छेले दायाँबायाँ हेरेर फुत्त फोहोर फालेर हिँड्छन्, धेरै चोटी मैले फोटो खिच्ने प्रयास समेत गरेको छु,’ दाहाल भन्छन् ।
जंगलभरी फोहोर हुनु दुर्भाग्य भन्दै उनले विश्वविद्यालय परिसरमा सफाइ अभियान नै आवश्यक रहेको बताए । दाहालले फोहोरको यस्तो समस्याको विषयमा त्रिवि गम्भीर भएको भन्दै छिट्टै केही योजना ल्याउने बताएका छन् ।
तत्कालै फलो गर्छौं : कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यले भने कीर्तिपुरको केही क्षेत्रमा मात्रै फोहोर नउठेको बताइन् ।
‘केही क्षेत्रको फोहोर उठ्न सकिरहेको छैन । हाम्रो नगरपालिकामा ४ वटा निजी संस्थाले फोहोर उठाइरहेका छन् । निजी संस्थाहरुले फोहोर उठाउन छोडेको होलान तर हामी तत्कालै फलो गर्छौं । जहाँसम्म त्रिवि क्षेत्रमा फोहोर जथाभावी फाल्ने कुरा छ, फोहोर नियमित उठेपछि त्यो समस्या समाधान हुन्छ,’ नगरपालिकाकी प्रवक्ता समेत रहेकी उनले भनिन् ‘हाम्रो क्षेत्रमा विद्यार्थीहरुको चाप धेरै छ, फोहोर पनि धेरै निस्किन्छ् । केही स्थानमा फोहोर नउठ्ने वित्तिकै सानो ठाउँ भएकोले सडकमा फोहोर आईहाल्छ । केही मान्छेले घरबेटीको दबाबको कारण त्रिवि जंगलसम्म फोहोर फालेका होलान तर घरबेटीले त्यस्तो नगर्नुपर्ने हो । हामी तत्काल समाधान तर्फ जान्छौं ।’
उनले त्रिविकै क्षेत्रमा कीर्तिपुर नगरपालिकाले बञ्चरेडाँडामा फोहोर फाल्न नपाएसम्म फोहोर छुट्याउने ठाउँमै सबै फोहोर जम्मा गरिरहेको उनले बताइन् । ‘बञ्चरेडाँडामा फोहोर रोकिँदा यहाँ पनि रोकिन्छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । भदौ १ गतेबाट फोहोरको वर्गीकरण गरेर मात्रै उठाउँछौं । त्यसपछि कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन,’ उपप्रमुख शाक्यले भनिन् ।
प्रतिक्रिया 4