+
+

मुख्यमन्त्रीहरु नै चाहँदैनन् प्रदेशमा दोहोरिन

यो पाँच वर्षमा ७ प्रदेशले १४ वटा मुख्यमन्त्री पाए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म संघमा चुनाव लड्ने चाहना व्यक्त गरेका छैनन् भने डोरमणि पौडेल चुनाव नै नलड्ने मनस्थितिमा पुगेका छन् । बाँकी वहालवाला र पूर्व मुख्यमन्त्रीहरु भने पाएसम्म संघकै चुनाव लड्न चाहन्छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ साउन २८ गते २०:५०

२८ साउन, काठमाडौं । मुख्यमन्त्री बन्ने आशमा प्रदेशमा झरेका राजेन्द्र पाण्डेले लामो समय सत्तामा जान समेत पाएनन् । जब एमाले फुटेर एकीकृत समाजवादी बन्यो, पाण्डेको हातमा बागमती प्रदेश सरकारको बागडोर आइपुग्यो ।

११ कात्तिक २०७८ मुख्यमन्त्री बनेका उनी आगामी निर्वाचनमा प्रदेशमा बस्न चाहँदैनन् । ‘एउटा वातावरणले धकेलेर प्रदेशमा पुर्‍यायो, आगामी चुनावमा संघमै उठ्छु’, मुख्यमन्त्री पाण्डेले अनलाइनखबरसँग भने ।

पाण्डे मात्र होइन, हाल प्रदेश सरकारको नेतृत्वमा रहेका र विगतमा नेतृत्व गरिरसकेका अधिकांश ४ मंसिरको चुनावमा प्रवेशमा उठ्न चाहदैनन्, संघमा आउन चाहन्छन् ।

यो पाँच वर्षमा ७ प्रदेशले १४ वटा मुख्यमन्त्री पाए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म संघमा चुनाव लड्ने चाहना व्यक्त गरेका छैनन् भने डोरमणि पौडेल चुनाव नै नलड्ने मनस्थितिमा पुगेका छन् । बाँकी वहालवाला र पूर्व मुख्यमन्त्रीहरु भने पाएसम्म संघकै चुनाव लड्न चाहन्छन् ।

केन्द्र आउन चाहनेहरु

नेकपा एमालेका महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । तर, उनी यो पटक संघीय चुनाव लड्दै छन् । २०७४ मा वाम गठबन्धन हुँदा बाध्यतावश दाङ–२ छोडेका पोखरेल मुख्यमन्त्री बन्ने आश्वासनसहित प्रदेशसभा चुनाव लड्न राजी भएका थिए ।

संघीयताबारे एमालेमा सुरुवाती बहस चलाउनेमध्यका एक उनले पटक–पटक भनेका छन् कि उनी केन्द्रमै भूमिका निर्वाह गर्न चाहन्छन् । गत महाधिवेशनपछि एमाले महासचिव भएका उनी दाङ–२ को चुनाव लड्ने तयारी गर्दै छन्, जहाँ उनीको चुनावी लडाइँ माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग हुने निश्चित जस्तै छ ।

एमालेबाटै प्रदेश १ को मुख्यमन्त्री भएका शेरधन राई र भीम आचार्य केन्द्रको चुनाव लड्ने तयारीमा छन् । ‘मेरो संघमै उठ्ने पक्का भइक्सयो’, राईले अनलाइनखबरसँग भने, ‘पार्टीले भनेर प्रदेशमा गएँ तर राम्ररी काम गर्ने वातावरण बनेन । अब म संघकै राजनीति गर्छु, पार्टीसँग पनि त्यही कुरा भएको छ ।’

संघमै आफूले बढी योगदान गर्छु जस्तो लागेकाले यसपालि प्रतिनिधिसभाको चुनाव लड्ने बताउँछन् अचार्य । ‘संघको चुनाव लड्छु’, उनले अनलाइनखबरसित भने, ‘संघमा म बढी योगदान गर्न सक्छु ।’ उनको चुनावी क्षेत्र सुनसरी क्षेत्र न. १ हो ।

हाल एकीकृत समाजवादीबाट प्रदेश १ कै मुख्यमन्त्री रहेका राजेन्द्र राईको जोड पनि सकभर संघकै चुनाव लड्ने छ । ‘उहाँको चाहना सकेसम्म प्रतिनिसभामै जाने हो,’ राई निकट एक नेताले भने । उनी भोजपुरबाट संघीय चुनाव लड्न चाहन्छन् । तर, त्यहाँ सत्तारुढ गठबन्धनकै अन्य दलहरुको समेत बलियो दाबी छ ।

एकीकृत समाजवादीको उपाध्यक्ष समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे पटक–पटक धादिङबाट जित्दै आएका सांसद हुन् । २०७४ मा बाम गठबन्धन हुँदा पनि धादिङको दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेले नै टिकट पाएका थियो, तैपनि उनले टिकट पाएनन् र प्रदेशसभामा गएका थिए । उनको तयारी धादिङ–१ बाट चुनाव लड्ने छ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही फेरि पनि मुख्यमन्त्री हुने सुनिश्चिता भएमात्रै प्रदेशमा जान चाहन्छन् । नत्र, संघीय चुनाव नै लड्ने उनले बताए । उनी यसपटक हुम्लाको संघीय क्षेत्रबाट चुनाव जितेर आउन चाहन्छन् ।

चाहना संघकै तर निर्वाचन क्षेत्रको संकट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको चाहना पनि संघीय चुनाव लड्ने नै छ । प्रदेशसभामै रहनुपरे फेरि पनि मुख्यमन्त्रीको सुनिश्चितता हुनुपर्ने उनको अव्यक्त शर्त छ । पार्टीको निर्णय मुख्य हुने बताएका केसीले अनलाइनखबरसँगको कुराकानीमा घुमाउरो शैलीमा संघ आउने चाहना व्यक्त गरे ।

‘मुख्यमन्त्री भइसकेकाले प्रदेशमा रहनका लागि कि त फेरि मुख्यमन्त्री बन्ने सुनिश्चित हुनुपर्‍यो, त्यो भन्दा अर्को पदमा रहने कुरा भएन’, उनले भने, ‘यो प्रदेशको मुख्यमन्त्री गठबन्धनका कुन दलले पाउने भन्ने निर्णय हुन बाँकी छ । हाम्रो पार्टीभित्र पनि अझै छलफल भएको छैन, त्यसैले मैले अहिले नै प्रदेश वा प्रतिनिधि सभामा उम्मेदवार बन्छु भनेर बोल्नु हतार हुन्छ ।’

केसीको गृह जिल्ला रोल्पा हो । रोल्पामा दुई निर्वाचन क्षेत्र हुँदा समेत माओवादीबाट टिकट नपाएका उनले त्यहीँबाट संघीय चुनावमा टिकट पाउन निकै कठिन छ । माओवादीबाट रोल्पाको एक मात्र क्षेत्रमा वर्षमान पुन निर्विकल्प जस्तै छन् । पुनकै कारण माओवादी केन्द्रका नेता महरा दाङ झरेर चुनाव लड्दै आएका छन् । यस्तोमा चाहना केन्द्रमा आउने भए पनि कुन क्षेत्रमा गएर चुनाव लड्ने भन्ने संकट छ ।

केसी मात्रै होइन, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई पनि निर्वाचन क्षेत्रकै संकट छ । नवलपुरबाट नेपाली कांग्रेसका नेता शशांक कोइराला चुनाव लड्दै आएका छन् । संघको इच्छा राखेको भए पनि शशांकले नछोड्दासम्म नेपालीले पाउने सम्भवना छैन । ‘उहाँको संघमा इच्छा छ तर टिकट पाउन गाह्रो छ’, मुख्यमन्त्री नेपाली निकट स्रोतले भन्यो, ‘शशांक कोइराला र उहाँँको एउटै क्षेत्र हो । शशांकलाई असहयोग गरेर उहाँ उठ्नुहुन्न ।’

सुदूरपश्चिममा त्रिलोचन भट्ट कार्यकालभर मुख्यमन्त्री हुने थोरै मध्यमा पर्दछन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनले धेरै मुख्यमन्त्री परिवर्तन हुँदा पनि उनी भने कायम रहे ।

भट्ट यसपालि संघीय चुनाव नै लड्न चाहन्छन् तर उनलाई पनि अरुलाई झैं निर्वाचन क्षेत्रको संकट छ । डोटीबाट प्रदेशसभा चुनवा जितेर मुख्यमन्त्री बनेका उनले संघीय निर्वाचनमा टिकट पाउन सजिलो छैन । डोटीको एकमात्र निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले सांसद छन् । उनी फेरि दोहोरिन चाहन्छन् ।

उता, नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको सशक्त दाबी भएकाले पनि भट्टको भागमा उक्त क्षेत्र छुट्याउने सम्भावना लगभग शून्य छ ।

कोही चुनाव नै नलड्ने, केही खुल्न बाँकी

बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल यसपटक कुनै पनि चुनाव लड्ने पक्षमा छैनन् । युवा पुुस्तालाई स्थान दिन आफूले बिदा लिन चाहेको उनले बताए । ‘म चुनाव लड्दिनँ’, पौडेलले भने, ‘युवा पुस्तालाई दिनुपर्‍यो नि, सधैंभरि हामीले कति लडिरहने ?’

चुनाव नलडेर पुस्तान्तरणमा सहयोग गर्न खोजेको उनको तर्क छ । यद्यपि ७० वर्ष पार गरिसकेकाले नेकपा एमालेको विधान अनुसार पनि उनी पार्टीको कार्यकारी भूमिका र पदमा बस्न मिल्दैन ।

पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि चुनाव नलड्ने मनस्थितिमा छिन् । यद्यपि उनले यसबारेमा कुनै निर्णय लिइनसकेको बताइन् । ‘धेरै पटक चुनाव लडिसकेको छु, यसपकटक के गर्ने भन्नेबारे कुनै निर्णय लिएकी छैन,’ अनलाइनखबरतिस उनले भनिन्, ‘पार्टीले कुनै निर्णय लेला ।’

कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही खुलिसकेका छैनन् । उनले पार्टीलाई जिताउने तयारीमा आफू जुटेको तर व्यक्तिगत रुपमा केही नसोचेको बताए । ‘सधैं जागिर खाए जस्तो माननीय हुने भन्दा पनि नयाँ–नयाँ प्रतिभालाई माथि ल्याउनुपर्‍यो, जिम्मा दिनुपर्‍यो भन्नेमा छु’, अनलाइनखबरसँग शाहीले भने ।

गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि आफू कुनै टुंगोमा पुगि नसकेको बताए । ‘संघमा आउन सुझाव पनि आइरहेको छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘आफ्नै प्रदेशमा केही गर्नुपर्छ भन्ने पनि छ । संघमा जाने कि प्रदेशमै बसेर केही गर्ने भन्नेबारे टुंगोमा पुगिसेको छैन ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?