
२८ साउन, वीरगञ्ज । मानमत–मटिअर्वा सडकखण्ड अन्र्तगत बाराको कलैयामा सडक तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले सडक तथा नाला निर्माण कार्र्यको शिलान्यास गरेका हुन् ।
कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अन्र्तगत पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक तथा नाला बनाउने कार्यको मन्त्री राईले शिलान्यास गरेको हुलाकी राजमार्ग सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन भारत सरकारको सहयोगमा उत्तरदक्षिण मानमत मटिअर्वा सडक बनाइएको थियो । २८ किलोमिटर सडकखण्डमा भरत चोक लगायत कलैयाको मुख्य बजार क्षेत्र पर्छ । मानमत मटिअर्वा सडक खण्डमा साढे ३ किलोमिटर सडक बन्न नसक्दा कलैया बजार नै कुरुप देखिँदै आएको थियो ।
सडक तथा नाला निर्माण कार्यको थालनीपछि बजारको सुन्दरता पनि बढ्ने अपेक्षा गरिएको छ । बजार क्षेत्रमा स्थानीयले सडक निर्माणका लागि ठाउँ छोड्न अटेर गरेपछि काम रोकिएको थियो ।
सडकको मध्य भागदेखि दायाँ र बायाँ १५/१५ मिटर फराकिलो बनाउने निर्णय भएपछि अधिकांश घरधनीले भौतिक संरचना हटाई मुआब्जा समेत लिइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले दुई चरणमा गरी ३७ जनालाई २ करोड २६ लाख रुपैयाँ मुआब्जा वितरण पनि गरिसकेको छ । केही घरधनीले मूल्यांकन कम भएको भन्दै सर्वोच्च अदालतमा उजुरी समेत गरेका छन् । केहीले घर टहरा संरचना नहटाउने र मुआब्जा पनि नलिएर सडक बनाउने ठाउँ खाली समेत गरिरहेका छैनन् । पूनः सरकारले मुआब्जाका लागि १० करोड रुपैयाँ पठाएको छ ।
कलैया बजार क्षेत्रमा देखिएको मुआब्जा सम्बन्धि विवाद भदौभित्र समाधान हुने इन्जिनियर मण्डलको दावी छ । ‘मुआब्जाका लागि १० करोड रुपैयाँ निकासा भएको छ, वितरणको प्रक्रियामा छ’, उनले भने ‘घरधनीहरु र अन्य सरोकारवालासँग छलफल चलिरहेकोले मुआब्जा सम्बन्धि विवाद भदौं महिना भित्र सल्टिने विश्वास लिएका छौं ।’
मानमत मटिअर्वा सडकखण्डमा बाँकी काम सम्पन्न गर्नका लागि सप्तकोशी जलाधार ओमसाई एण्ड कम्पनी जेभी नयाँ बानेश्वर काठमाण्डौंले ठेक्का पाएको छ । सडक तथा नाला निर्माण कार्यका लागि ३६ करोड ५२ लाख ७८ हजार ७ सय २४ रुपैयाँ ६० पैसा (भ्याट पिएस समेत) लागत अनुमान गरिएको थियो ।
तर ठेकेदार कम्पनीले १४ करोड २० लाख ९२ हजार ४ सय ५ रुपैयाँ कममा अर्थात २२ करोड ३१ लाख ८६ हजार ३ सय १८ रुपैयाँ ९४ पैसामा ठेक्का सकार गरेको छ । ३.६७८ किलोमिटर ६ लेन सडकको चौडाइ ३० मिटर हुनेछ । फुटपाथको चौडाई २.३० मिटर छ भने मेडियन (डिभाइडर) को चौडाइ २ मिटर छ । सडकको दुवैतिर ३.६७८ किलोमिटर कै नाला पनि बन्नेछ ।
०७८ माघ २ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडक र नालाको काम ०७९ माघ १ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । हुलाकी राजमार्ग योजना कार्यालयका अनुसार उक्त सडक तथा नाला निर्माणका लागि हालसम्म ५० लाख ६८ हजार ६ सय ६४ रुपैयाँ खर्च भइसकेको छ ।
विवाद समाधान भइसकेकोले मटिअर्वा शितलपुरमा ५१२ मिटरका नाला निर्माणको काम भइरहेको छ । भने मटिअर्वा नहरदेखि दक्षिणतर्फ १६७ मिटर सडक निर्माण र नालाको काम पनि बाँकी छ ।
प्रतिक्रिया 4