
२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विरुद्धमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ ।
विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेको भन्दै अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय कमिटीले सुरु गरेको हस्ताक्ष संकलन कार्यक्रम आइतबार र सोमबार दुई दिन हुने छ ।
नेपाल विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयलाई लिएर असार २७ गते व्यवस्थापन संकायको डीन कार्यलय, सहायक डीन कार्यलय, रजिष्ट्रार कार्यलयको मूल गेटमा ताला लगाएको थियो । नेविसंघले रजिष्ट्रार कार्यलयको मूल गेटमा लागेको ताला भने साउन १५ मा खोल्दै रजिष्ट्रारको कार्यकक्ष, कर्मचारी प्रशासन प्रमुखको कार्यकक्ष, आर्थिक प्रशासनमा लगाएको छ ।
नेविसंघले सत्ताको आडमा त्रिभुवन विश्वविद्यालयलाई अराजकता र ताला बन्दीको केन्द्रबिन्दु बनाई रहेकोले तालाबन्दी विरुद्धमा हस्ताक्षर संकलन गरिएको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष शम्भु भट्टले बताए । संकलित हस्ताक्षर कुलपतिलाई बुझाएर विश्वविद्यालय विद्यार्थीमैत्री बनाउनुको साथै बिश्वविद्यालयमा भइरहेको प्रतिशोधको राजनीति बन्द गराउन आग्रह गर्ने अध्यक्ष भट्टले बताए ।
प्रतिक्रिया 4