
काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधको कथा चित्रण गरिएको छ ।
दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गर्ने फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो । फिल्म बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशी रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्म समेत हो । यस्तै फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड दिलाएको थियो ।
‘ऐना झ्यालको पुतली’ले पहाडको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।
फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।
आइसफल प्रोडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।
फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रोडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।
प्रतिक्रिया 4