
काठमाडौं । विवाहित, गर्भवती, आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाले पनि मिस युनिभर्स नेपालको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने भएका छन् । प्रतियोगिताबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आगामी वर्षदेखि ती नियम लागू हुने बताइन् ।
‘मैले सधैं मिस युनिभर्सलाई मन पराउनुको एउटा कारण समावेशिता हो र यो पछिल्लो परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुको लागि सुनौलो अवसर हुनेछ,’ श्रेष्ठले भनिन्, ‘हामी अर्को वर्ष यो नियम लागू गर्न तत्पर छौं ।’

गत वर्षको संस्करणमा पारालैंगिक समुदायका व्यक्तिले पनि प्रतिस्पर्धाको मौका पाएका थिए । पत्रकार सम्मेलनमा प्रतिस्पर्धाका २० जना फाइनलिस्टलाई मञ्चमा प्रस्तुत गरिएको थियो ।
शीर्ष २० मध्ये सोसल इम्प्याक्ट लिडर विधाको विजेताले अन्तिम १० मा प्रवेश पाउनेछन् । बढी भोट पाउनेले पिपुल च्वाइस अवार्ड दिइने र अवार्डको विजेताले उत्कृष्ट १० मा प्रवेश पाउने जनाइएको छ ।

यस वर्षको विजेताले १० लाख रुपैयाँसहित इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने भएकी छन् । विजेताले ७१ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउने भएकी छन् ।
यसपटक सात वटा उपशीर्षक पुरस्कार पनि छन् । जसमा मिस इको इन्फिनिटी, मिस लाइफस्टाइल, मिस फ्याबुलस, मिस फयर्स, मिस आइसीटी, मिस फ्री एण्ड फियरलेस, लूप नेटवर्कको पिपुल च्वाइस अवार्ड छन् । ओरिफ्लेम मिस युनिभर्स नेपाललाई उमंग क्रिएसनले आयोजना गर्न लागेको हो ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4