
काठमाडौं । नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ गतेसम्म मञ्चन हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा साउन ६ गतेदेखि २९ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक दर्शकको माग अत्यधिक भएपछि भदौ ११ गतेसम्म मञ्चन हुने भएको हो ।
नाटक अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको किरात समुदायले आस्था र विश्वासको रुपमा लिने ‘खुवालुङ ढुंगा’मा आधारित छ ।
सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने स्टिमर (जेटबोट) चलाउन समस्या भएको भन्दै सरकारले फुटाउने भनेपछि व्यापक विरोध भएको थियो । यसको चौतर्फी विरोध भएपछि सरकार खुवालुङ फुटाउनबाट पछि हटेको थियो । तर अझै पनि खुवालुङको संरक्षण हुन्छ भन्ने निश्चित कार्यक्रम नल्याइएकाले सांस्कृतिक आन्दोलनको निरन्तरताको लागि नाटक मार्फत खबरदारी गर्न नाटक तयार गरिएको नाटक लेखक राजन मुकारुङ बताउँछन् ।
नाटकलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, याङसाङ मुकारुङ, सविना थापा, प्रसंशा गुरुङ, बेदना राई, रियर राई, रमिला मोक्तान लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4