
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछेनले खेलसँगै संगीतलाई पनि अघि बढाइरहेका छन् । २०७५ सालमा पहिलो गीत सार्वजनिक गरेका सन्दीपको अर्को गीत ‘अव्यक्त’ सार्वजनिक भएको छ । अफ्रिकी मुलुक केन्या भ्रमणमा जाने तयारीमा रहेका सन्दीपले आइतबार आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
सन्दीप आफैंले लेखेको गीतको लिरिकल भिडियो पनि उनी आफैंले बनाएका हुन् भने गीतकाे एरेन्ज सन्दीप र सुदीप दाहालले गरेका छन् । २२ वर्षीय सन्दीपले क्रिकेटपछि संगीतलाई सोखको रुपमा अगाढि बढाइरहेका छन् । उनले दर्जन बढी गीतमा आवाज दिइसकेका छन् ।
सन्दीपले २०७५ मा पहिलो गीत ‘उदास’ सार्वजनिक गरेका थिए । त्यसपछि सन्दीपले भेटुँ कसरी, यो झरीमा, तिमी नै छौ, बगी जाने खोला, रुम नम्बर २५, समर्पित, आज फेरि, हराएँ म, साँझ, हजार कथा, मनको परी, जुनेली यो रातमा, माया, मेमोरी, जिन्दगी गई जाला जस्ता गीत गाएका छन् ।
सन् २०१६ मा नामिबिया विरुद्ध टीयू मैदानमा खेल्दै नेपालको सिनियर टोलीमा डेब्यु गरेका सन्दीपले नेपालका लागि ३० एकदिवसीय अन्तर्राष्ट्रिय र ३८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । सन् २०१८ अगष्टमा नेदरल्याण्ड्स विरुद्ध नेपालले ऐतिहासिक पहिलो ओडीआई खेल्दा सन्दीपले पनि त्यही खेलबाट ओडीआईमा डेब्यु गरेका हुन् ।
उनी दुवै फर्म्याटमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन्दीपले ३० ओडीआईमा ६९ र ३८ टी-२० आईमा ७३ विकेट लिएका छन् । उनको उत्कृष्ट स्पेल ओडीआईमा ६/११ र टी-२० आईमा ४/२० हो । उनले सबैखाले टी-२० क्रिकेटमा ५४ खेल खेल्दै ११५ विकेट लिएका छन् ।
यस्तै लिस्ट एमा १३१ खेलमा १८१ विकेट लिएका छन् । एक मात्र फस्ट क्लास क्रिकेट खेलेका सन्दीपले ३९ रन बनाउनुका साथै ३ विकेट लिएका छन् ।
प्रतिक्रिया 4