
३० साउन, काठमाडौं । नेपाल बैंकर्स संघले भदौमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १८ साउनमा मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्नसक्ने व्यवस्था गरेको थियो । त्यस लगत्तै २० साउनमा बसेको बैंकर्स संघको पूर्ण बैठकले निक्षेपको ब्याजदर नबढाउने र राष्ट्र बैंकको निर्देशन अनुसार ब्याजदर समायोजन गर्ने निर्णय गरेको थियो ।
संघको पूर्ण बैंठकको निर्णय अनुसार नै सोमबार बसेको संघको कार्यकारी समितिको बैंठकले भदौमा निक्षेपको ब्याजदर नबढाउन निर्णय गरेको एक बैंकरले जानकारी दिए । राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिए पनि बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
राष्ट्र बैंकले १८ साउनमा जारी गरेको परिपत्रमा संस्थागत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो । यसअघि १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरको थियो ।
सोही अनुसार मंगलबार ३१ साउनमा भदौ १ गतेदेखि लागू हुने निक्षेपको नयाँ ब्याजदरमा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघका एक कार्यकारी सदस्यले बताए । यस्तै राष्ट्र बैंकको निर्देशन अनुसार संस्थागत मुद्दती निक्षेपको ब्याजदर समायोजन गर्दै १०.०३ प्रतिशतबाट ९.०३ प्रतिशत प्रकाशित गर्ने उनले बताए ।
‘अहिले पनि मुद्रास्फीति भन्दा निक्षेपको बयाजदर उच्च रहेको छ, बैंकर्स संघमा ब्याजदरलाई स्थायित्व दिनुपर्ने सहमति भएको छ,’ एक बैंकर्सले भने, ‘अनिवार्य नगद अनुपात, बैंकदर र नीतिगत दर बढेपछि बेस रेटमा त्यतिकै दबाव पर्ने भएकोले निक्षेपमा थप ब्याजदर बढाएर कर्जाको ब्याजदर महँगो बनाउँदा पनि समस्या हुनसक्ने भएकोले भदौमा पनि अहिलेकै ब्याजदरलाई राष्ट्र बैंकको निर्देशन अनुसार समायोजन गरेर निरन्तरता दिने निर्णय बैंकर्स संघको पूर्ण बैंठकले नै गरेको हो।’
बैंकहरुले हाल व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिंदै आएका थिए । तर, अब बैंकहरुले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९.०३ प्रतिशत कायम हुने भएको छ ।
प्रतिक्रिया 4