
३० साउन, जनकपुरधाम । जवर्जस्ती करणी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका एक व्यक्ति होटेल सञ्चालन गरेर बसिरहेको पाइएको छ ।
पाँच वर्षअघि धनुषामा नाबालिकालाई बलात्कार गरेको घट्नामा उच्च अदालत जनकपुरधामले कैद र जरिवाना तोकिएका सन्तोष खड्का सिन्धुलीमा होटेल सञ्चालन गरेर बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका १ का ४० वर्षीय खड्का सिन्धुलीको कमलामाई नगरपालिका १० स्थित सेल्फीडाँडामा होटेल कोहिनुर सञ्चालन गरी बस्दै आएका थिए । यो सूचना प्राप्त भएपछि पछि पुगेको धनुषा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका खड्कालाई नियन्त्रणमा लिई जिल्ला अदालत धनुषामा उपस्थित गराउँदा सिन्धुली कारागार पठाउने आदेश दिएको प्रहरीको भनाइ छ ।
खड्काले २६ चैत २०७४ मा धनुषाको मिथिला नगरपालिका ६ स्थित चितवन होटेल एण्ड गेस्ट हाउसमा एक नाबालिकासँग जर्वजस्ती करणी गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालत जनकपुरले २५ असार २०७६ मा खड्कालाई ६ बर्ष कैद र नगद रु ५० हजार जरिवाना हुने सजाय तोकेको थियो । कैद र जरिवाना तोकिएपछि फरार भएका उनलाई होटेल सञ्चालन गरी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रतिक्रिया 4