
३१ साउन, काठमाडौं । बजारमा सेकेन्ड ह्यान्ड (रिकन्डिसन) कार/जीपहरुको माग बढेको छ । तर, पनि रिकन्डिसन स्टोरहरुले मागअनुसार बिक्री गर्न सकिरहेका छैनन् ।
अहिले पुराना कारहरुको माग बढेको मात्रै छैन, खरिद बिक्री पनि सुस्ताएको छ । माग हुँदा हुँदै पनि आपूर्ति कमजोर भएर यस्तो अवस्था आएको व्यवसायीहरुले बताएका छन् ।
वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण नयाँ कारको आयात रोकिएर बिक्री खुम्चिएको छ । तर, त्यसको प्रभाव रिकन्डिसन बजारसम्म परेको छ । सिप्रदी अस्योर्डका डेपुटी जनरल म्यानेजर ध्रुब रेग्मीका अनुसार सरकारले कार आयातमा प्रतिवन्ध लगाएपछि सेकेन्ड ह्यान्ड कारको माग बढेको बताउँछन् । १५ भदौसम्मका लागि सरकारले कार/जीप/भ्यानको आयातमा प्रतिवन्ध लगाएको छ ।
यसले बजारमा रिकन्डिसन कारको माग बढाउन सघाएको छ । ‘कसैले नयाँ गाडी चढेपछि पुरानो गाडी रिकन्डिसन बजारमा आउँछ,’ उनी भन्छन्,‘तर, नयाँ गाडीको आयातमा नै प्रतिवन्ध लागेपछि बजारमा नयाँ गाडीको अभाव छ । यसले रिकन्डिसन कारको आपूर्ति चक्र भत्किएको छ ।’
रेग्मीका अनुसार अहिले बजारमा रिकन्डिसन कारको विकल्प एकदमै कम छ । अझ कम इन्जिन क्षमता र मूल्यका कारको त लगभग स्टक क्लियर भइसकेको छ ।
रेग्मीका अनुसार बैंकहरुले अटोमोबिल क्षेत्रमा खासै लगानी गर्न चासो दिएका छैनन् । विदेशी मुद्राको सञ्चिति जोगाउने र अनुत्पादक क्षत्रेमा हुने लगानी घटाउने गरी राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न पाएका छैनन् ।
‘कम मूल्यका गाडीमा बैकिङ सुविधा खासै आवश्यक नै पर्दैन,’ रेग्मी भन्छन्, ‘महँगा गाडीमा बैंकले लगानी गर्न नै रुची देखाएका छैनन्, उनीहरुसँग पर्याप्त तरलता पनि छैन ।’
सानोगौचरनस्थित राम्रो मोटर्सकी सेल्स व्यवथापक अनिता आचार्य बैंकहरुले फाइनान्सिङ नगर्दा रिकन्डिसन कारहरुको बजार खुम्चिन पुगेको बताउँछिन् । बजारमा साना मूल्यका कारहरु बिक्री भइरहे पनि महँगो मूल्यका रिकन्डिसन कारले बजार नपाएको उनको भनाइ छ ।
‘गाडीमा फाइनान्सिङ अनिवार्य जस्तै हुन्छ,’ उनले भनिन्, ‘अहिले बजेट मूल्यको गाडी बजारमा खासै उपलब्ध छैनन्, महँगा गाडी बेच्न बैंकले ऋण दिएका छैनन् ।’
प्रतिक्रिया 4