
३१ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न उनले माग गरेकी हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले कानुनभन्दा आफूलाई माथि राखी दलितमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको भन्दै आक्रोश व्यक्त गरिन् ।
‘यही २९ गते आवश्यक प्रक्रिया पुर्याई ठगे कार्मीको सट्टा मेरो वास्तविक नाम कर्णबहादुर कामी लेखी नागरिकता प्रमाण पत्र प्रतिलिपी पाउँ भनी दैलेख जिल्ला प्रशासन कार्यालय जाँदा त्यहाँका प्रमुख जिल्ला अधिकारीले उल्टो उनलाई अपमान, दुर्व्यवहार गरी उनको निवेदन च्याती दिनुका साथै भरेको नागरिकता फारम काम नलाग्ने गरी डटपेनले केरमेट गरेर पठाएका छन्’ सांसद परियारले भनिन्, ‘सभामुख महोदय, यो लोकतन्त्रमाथिको भद्दा मजाक भएन र ?’
सार्वजनिक पदमा बसेर जातीय विभेदलाई प्रश्रय दिन लगाउने र दलितलाई जातका आधारमा अपमान गर्ने गैरजिम्मेवार कर्मचारीलाई कानुनी दायरामा ल्याउनुपर्ने सांसद परियारले बताइन् । उनले दैलेखका प्रजिअ प्याकुरेललाई कारबाहीका लागि सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रहसमेत गरिन् ।
प्रतिक्रिया 4