
३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पंगु भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले गठबन्धन सरकार बनेपछि संसद, संसद जस्तो नभएको र अदालत, अदालत जस्तो हुन नसकेको बताएका हुन् ।
‘यो गठबन्धनको एक बर्षको सरकारमा हामीले देख्यौं, भोग्यौं हामीले । अर्थतन्त्र ओरालो लाग्यो, राजनीति भद्रगोल भयो । संसद पंगु भएको छ । संसद, संसद जस्तो छैन । सरकार, सरकार जस्तो छैन । अदालत, अदालत जस्तो छैन् । अदालतमा मारामार छ । प्रधानन्यायाधीशमाथि ६ महिना भन्दा बढी हुन लाग्यो महाअभियोग लागेको’ उनले भने ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि महाअभियोग सिफारिस समितिले अध्ययन नै सुरु गर्न नसकिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले संसदमा जबराविरुद्धको महाअभियोग उपर हुने निर्णयमा एमालेको भूमिका हुन्छ भन्ने पनि खुलाएनन् । तर, घुमाउरो शैलीमा महाअभियोग अगाडि नबढेको भनी सत्तारुढ गठबन्धनप्रति प्रश्न उठाए ।
प्रतिनिधिसभामा एमालेका ९८ सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभाबाट दुई तिहाई बहुमतले महाअभियोग पारित गारउन खोजे एमालेको साथ अनिवार्य छ । एमालेको साथ बिना महाअभियोग पारित हुन सक्दैन ।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो ।
२९ फागुनमा प्रतिनिधि सभामा पेस भएको उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो । विजनेस पाएको डेढ सातासम्म महाअभियोग सिफारिस समितिले काम सुरु गरेको छैन ।
प्रतिक्रिया 4