
३१ साउन, काठमाडौं। श्रृंखलाबद्ध डाकैती संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ का ३८ वर्षीय राम सिंह तामाङ, मकवानपुरका बागमती गाउँपालिका-८ का ३८ वर्षीय दिल बहादुर सिङ्तान र मकवानपुरकै बकैया-५का ३५ वर्षीय शुशिल भन्ने बाबुलाल थिङलाई महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न स्थानमा घरहरुमा जबर्जस्ती प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गरगहना डाँका गरेको अभियोग लागेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट नगद १ लाख ४२ हजार १०५, ५ थान मोबाइल, २ थान खुकुरी, १ थान फलामको छड बरामद गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार २०७७ साल असार ६ गते राति शंखरापुरस्थित खुलालटारस्थित लालबहादुर थापाको घरमा अपरिचित व्यक्तिहरु प्रवेश गरी हातहतियार देखाई नगद, सुनचाँदी र मोबाइल तथा नगद २ लाख ४१ हजार डाँका गरेका थिए ।
त्यसपछि २०७९ साल असार १२ गते शंखरापुर नगरपालिका-९ स्थित सुशिला थापाको घरमा धारिलो हतियार देखाई नगद ६ लाख ५ हजार ७५० सय रुपैयाँ बराबरको धनमाल डाँका गरेको प्रहरीको भनाइ छ ।
यस्तै २०७९ असार २० गते राति काभ्रेको बनेपा नगरपालिका-११स्थित सलाम सिहं लामाको घरमा अपरिचित व्यक्तिहरु प्रवेश गरी हात हतियार देखाई नगद, सुन तथा मोबाइल र १२ लाख ४९ हजार बराबरको डाँका गरेको प्रहरीले बताएको छ ।
यसैगरी २०७९ साउन २४ गते राति कीर्तिपुर नगरपालिका -६ स्थित नारायण बस्नेतको घरमा अपरिचित व्यक्तिहरु प्रवेश गरी नगद सुन र हिराका गरगहनासमेत गरी ५६ लाख ६५ हजार रुपैयाँ बराबरको डाँका गरेर लगेको प्रहरीको दाबी ।
यस्तै शुशिल भन्ने बाबुलाल थिङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत बौद्ध पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4