
काठमाडौं । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आगामी ३० भदौदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गर्ने भएको छ ।
दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनले काठमाडौंको सोल्टी होटलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) को संयुक्त कार्यशाला गोष्ठी आयोजना गर्दै एमडीएमएस सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडीएमएसको महत्व, विशेषता र प्रविधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागू गर्नु पर्नेमा जोड दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थिति बाहेक आगामी ३० भदौदेखि एमडीएमएस सिस्टम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गोष्ठीमा मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्राले मोबाइल फोनलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय वस्तुको रुपमा लिने गरेको बताए । तर सरकारले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोप्रति उनले आपत्ति जनाए । गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौंको सङ्ख्यामा भित्रिंदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुगेको उनको भनाइ थियो ।
मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने उनको भनाइ थियो ।
कार्यक्रममा एमपीआईएका उपाध्यक्ष सञ्जय अग्रवालले ३० भदौदेखि औपचारिक रुपमा एमडीएमएस सुरुवात हुने र यसको दुईदेखि तीन महिनामा शतप्रतिशत लागू हुने बताए । देशलाई नै चाहिने अति आवश्यक बृहत योजनालाई सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
गोष्ठीमा नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4