
१ भदौ, काठमाडौं । सत्तारुढ दलबाट काठमाडौंका १० क्षेत्रमा उम्मेदवारीको दाबी गर्नेहरुको संख्या दुई दर्जन माथि पुगेको छ । केन्द्रीय देखि क्षेत्रीय तहका नेताहरुले उम्मेदवारको आकांक्षा राखेका छन् ।
सत्ताघटकका दलमा काठमाडौंको हकमा समेत सबैभन्दा बलियो कांग्रेस छ । स्थानीय तहको मतमा समेत कांग्रेस पहिलो शक्ति बनेको छ । तसर्थ, कांग्रेसले स्वाभाविक रुपमा काठमाडौंका अधिकांश क्षेत्रमा उम्मेदवारी पाउनेछ ।
गत निर्वाचनमा कांग्रेसले काठमाडौंको १, ४, ६ र १० जितेको थियो । तत्कालीन समयमा बामगठबन्धनका उम्मेदवारले अन्य छ ठाउँमा निर्वाचित भएका थिए । काठमाडौं २ एमालेबाट विजयी माधवकुमार नेपाल र ८ मा विजयी जीवनराम श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । २०७४ मा वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रले तीन ठाउँमा उम्मेदवार उठाएको थियो । काठमाडौं १, ६ र १० मा उठेका माओवादीका उम्मेदवार पराजित भएका थिए ।
गठबन्धनमा माओवादीले काठमाडौंका तीन सिटको दाबी गरेको छ । सत्ताघटककै अर्को दल एकीकृत समाजवादीले दुई ठाउँ आफ्नो दलले पाउनुपर्ने अडानमा छ । काठमाडौं १, ६ र ९ मा माओवादीका नेताहरुले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीले काठमाडौं ५ र ८ मा दाबी गरेको छ ।
माओवादीको पनि इच्छा तर प्रकाशमान हाबी
काठमाडौं १ मा कांग्रेसबाट विजयी प्रकाशमान सिंह निर्विकल्प उम्मेदवार जस्तै देखिएका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट सिंहसँगै पराजित माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले पनि रुचि देखाएका छन् । वामगठबन्धन हुँदा समेत पराजित तथा माओवादी पनि सत्तागठन्धनमा भएकाले शर्माले उम्मेदवारी पाउने सम्भावना अति न्युन छ ।

स्थानीय तहको मतको आधारमा काठमाडौं १ मा कांग्रेस पहिलो दल बनेको छ । सत्ताघटक माओवादीले राप्रपाले भन्दा पनि कम मत पाएको छ । कांग्रेसले ९ हजार ८९५, एमालले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६ मत ल्याउँदा माओवादी केन्द्रले १ हजार १५९ मत पाएको थियो ।
माधवले रौतहट रोजेपछि प्रतिमाको चर्चा
काठमाडौं २ मा गत निर्वाचनमा एमालेबाट माधवकुुमार नेपाल विजयी भएका थिए । नयाँ दल एकीकृत समाजवादी समाजवादी गठन गरेर अध्यक्ष बनेका माधव यसपटक यो क्षेत्र छोड्ने भएका छन् । रौतहट १ मा उठ्ने गरि माधवले काठमाडौं २ छोड्न लागेका हुन् । एकीकृत समाजवादीले यस क्षेत्रमा दाबी नगरेपछि कांग्रेस आकांक्षीहरु अघि सरेका छन् ।
काठमाडौं २ मा कांग्रेसबाट प्रतिमा गौतमको नाम सर्वाधिक चर्चामा छ । गौतम १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । ‘म चुनावमा उठ्ने भन्ने कुरा भा’छ । माधव नेपाल रौतहट जाने भनिसकेपछि म उम्मेददवार हुने निश्चित जस्तै छ नि,’ गौतमले अनलाइनखबरसँग भनिन् । २०७० मा उनी यस क्षेत्रबाट माधवसँग पराजित भएकी थिइन् ।

काठमाडौं २ वा ३ मा कांग्रेसबाट आकांक्षा राख्नेमा लोकेश ढकाल पनि छन् । उनी महाधिवेशन प्रतिनिधि हुन् । २०६४ मा कांग्रेसबाट प्रतिस्पर्धा गरेका दीपक कुइँकेल पनि यस क्षेत्रमा आकांक्षी छन् । काठमाडौं २ मा गत स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बनेको छ । एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपा ७ हजार २०० र माओवादी ३ हजार १३१ मत पाएका छन् ।
टिकट पाउन अम्बिकालाई आफ्नैको चुनौती
काठमाडौं ३ मा गत निर्वाचनमा कांग्रेसबाट पराजित अम्बिका बस्नेतको उम्मेदवारको आकांक्षीमा अघिल्लो स्थानमा नाममा छ । यसै क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको पूर्व मेयर सन्तोष चालिसे र महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी नाम पनि चर्चामा छ । भण्डारी केन्द्रीय सदस्यमा दुईपटक पराजित हुन् ।

छिरिङ दोर्जे लामा र विमल ठकुरीले संघमा इच्छा राखे पनि प्रदेश सभाकै दाबेदार रहेको कांग्रेसका एक नेता बताउँछन् । लामाले अघिल्लोपटक प्रदेश सभामा जितेका थिए भने ठकुरी पराजित भएका थिए । क्षेत्रीय तहका एक नेताका अनुसार बस्नेत उम्मेदवार भए कांग्रेसलाई जित निकाल्न कठिन हुनेछ ।
काठमाडौं ३ मा स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । कांग्रेसको पक्षमा १५ हजार ७९५ र एमालेलाई १४ हजार ८७६ मत खसेको छ । तेस्रो स्थानको मत ल्याएको माओवादी केन्द्रको १ हजार ७३० छ भने राप्रपाले १ हजार ३१४ र एकीकृत समाजवादीको पक्षमा १ हजार ५६ मत आएको छ ।
गगन निर्विकल्प
काठमाडौ ४ मा विगतका दुई निर्वाचन जित निकालेका कांग्रेस महामन्त्री गगन थापा निर्विकल्प उम्मेदवार हुन् । काठमाडौं ४ मा स्थानीय तहको मतमा कांग्रेस भन्दा एमाले अघि छ ।

एमाले १६ हजार ५०७ मत सहित अग्रस्थानमा हुँदा कांग्रेसको पक्षमा स्थानीय तहमा १५ हजार ७६३ मत खसेको छ । तेस्रो स्थानको मत एकीकृत समाजवादीले २ हजार ४१४, राप्रपाले २ हजार २९३, माओवादी केन्द्रले ८४४ र जसपाले ३१७ मत पाएका छन् । यस क्षेत्रमा कांग्रेस र गठबन्धनका अन्य दलले उम्मेदवारको दाबी गरेका छैनन् ।
एकीकृत समाजवादीका सुदेशको इच्छा
काठमाडौं ५ अन्यको तुलनामा चर्चा बढी छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यो क्षेत्र छोड्ने मनस्थिति बनाएपछि एकीकृत समाजवादीले दाबी गरेको छ कांग्रेसबाट अघिल्लो चुनावमा यस क्षेत्रमा प्रतिस्पर्धा गरेका डा. महत नुवाकोट १ मा जान चाहेका छन् ।
यस क्षेत्रमा कांग्रेस नेताहरुमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र नैनसिंह महरको नाम पनि चर्चामा छ । यसअघि महामन्त्री विश्वप्रकाश शर्माको पनि यहाँ चर्चा भए पनि उनले झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् ।
गृह क्षेत्रको कांग्रेस नेता नभएको तथा जित निकाल्न पनि कठिन रहेकाले कांग्रेसले यो क्षेत्र एकीकृत समाजवादीलाई छोड्न सक्नेछ । एकीकृत समाजवादीबाट सुदेश पराजुलीको नाम यहाँ चर्चामा छ । एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको पराजुली अध्यक्ष समेत हुन् ।

काठमाडौं ५ का कांग्रेस क्षेत्रीय सभापति रमेश खड्काले उम्मेदवारीको दाबी गर्दै आएका छन् । काठमाडौं ५ मा स्थानीय तहमा एमाले पहिलो शक्ति बनेको छ । एमालेले १९ हजार ७०३, कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकीकृत समाजवादी १ हजार ८२७, माओवादीले १ हजार १६८ र जसपाले ५८ मत पाएका छन् ।
कांग्रेसका दुई नेताको हानथाप, हिमाल पनि आकांक्षी
काठमाडौं ६ मा कांग्रेसका दुई नेता विच उम्मेदवारको हानथाप हुने भएको छ । केन्द्रीय सदस्य तथा गत निर्वाचनमा निर्वाचित भीमसेनदास प्रधान र जिल्ला सभापति कृष्ण सबुज बानियाँले यस क्षेत्रमा दाबी गरेका छन् । ‘अघिल्लो चुनावमा पटक–पटक बचन पाए पनि मैले टिकट पाइनँ । जुनै हालतमा पनि यसपटक काठमाडौं ६ मा म उठ्ने हो,’ नेपाली कांग्रेस जिल्ला सभापति बानियाँले भने ।

माओवादी केन्द्रले यस क्षेत्रमा आफूले उम्मेदवार पाउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्रबाट हिमाल शर्माको नाम अघि सारिएको छ ।
काठमाडौं ६ मा स्थानीय तहमा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । यस क्षेत्रमा कांग्रेसले १७ हजार २७७, एमालेले १४ हजार ३०३, माओवादीले २ हजार ४६२, एकीकृत समाजवादीले १ हजार ८५९ र राप्रपाले १ हजार ८१६ मत प्राप्त गरेका थिए ।
‘नेता व्यवस्थापन’ गर्ने क्षेत्र
काठमाडौं ७ को सन्दर्भ अलि भिन्न देखिएको छ । कांग्रेसका लागि गृह क्षेत्र काठमाडौं ७ भएका उपल्लो तहका नेता छैनन् । मतका हिसाबले गठबन्धनमा कांग्रेस नै अघि छ । उपल्लो तहका कांग्रेस नेता नभएकाले गृह क्षेत्रका स्थानीय नेताले टिकट पाउने सम्भावना कम छ । काठमाडौं ७ लाई गठबन्धनका नेताहरुको व्यवस्थापन गर्ने क्षेत्र हुनसक्ने कांग्रेसका एक जिल्ला नेताले बताए । काठमाडौं ६ मा कांग्रेसका दुई नेता भिमसेनदास प्रधान र कृष्ण सबुज बानियाँबीच हानथाप हुँदा अन्तिममा एक जनालाई ७ मा सार्न सकिने विकल्प पनि उनले सुनाए ।
‘क्षेत्रकै बलियो अनुहार देखिएको छैन । उम्मेदवार बनाउन अन्यत्रबाट कांग्रेसकै कोही व्यक्ति ल्याउने वा गठबन्धनका कुनै दललाई यो क्षेत्र छुट्याउने सम्भावना छ ।’ जिल्ला तहका कांग्रेसका एक नेताले भने ।

जनता समाजवादीले काठमाडौंको एउटा क्षेत्रमा दाबी गर्यो भने काठमाडौं ७ रोजाइमा पर्ने भएको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले यस क्षेत्रमा उठ्ने रुचि देखाएका छन् । एकीकृत समाजवादीका काठमाडौं इन्चार्ज बसन्त मानन्धर पनि यस क्षेत्रमा आकांक्षी छन् ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेका डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ । नेसपाबाट भट्टराईकी छोरी मानुषी यमी भट्टराई आकांक्षी छिन् ।
कांग्रेसबाट आकांक्षा राख्नेहरुमा प्रमोदहरी गुरागाईं, प्रगतिमान रञ्जित, विनोद पन्त, प्रमिला सिंह डंगोल, दक्ष पौडेल, सुशील भट्ट, विजय बहादुर माली, लगायत छन् । आकांक्षा राख्ने सबै महाधिवेशन प्रतिनिधि हुन् । दक्ष पौडेलले आफू शहीद परिवारको सदस्य भएको, निरन्तर कांग्रेसमा क्रियाशील रहेको र अघिल्ला चुनावमा अन्य नेताका लागि छाडिदिएकाले यसपटक आफूले दाबी गरेको बताए ।
काठमाडौं ७ मा पनि स्थानीय तहको निर्वाचनको मतमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२, एकीकृत समाजवादीले ३ हजार ८३९, राप्रपाले २ हजार २७, माओवादीले ५७६, जसपाले १६२ मत पाएका छन् ।
मन्त्री जीवनरामको नाम अघि
काठमाडौं ८ मा एकीकृत समाजवादीको दाबी छ । गत निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठले यस क्षेत्रबाट निर्वाचित भएका थिए । श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री छन् ।

पूर्वमन्त्री तथा दिवंगत नेता नवीन्द्रराज जोशीको पत्नि सपना जोशीको नाम यस क्षेत्र क्षेत्रमा कांग्रेसबाट नाम चर्चामा छ । साथै, काठमाडौं महानगरमा २०७४ सालमा मेयरमा पराजित राजुराज जोशीले पनि यस क्षेत्रबाट इच्छा देखाएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ८ मा कांग्रेस पहिलो शक्ति बनेको छ । कांग्रेसले १० हजार ८७२ मत सहित पहिलो दल हुँदा एमालेले ९ हजार २५३ मत ल्याएर दोस्रो बनेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीले ५ हजार १४२, राप्रपाले ३ हजार १६० र माओवादीले १८९ मत पाएको छ ।
कांग्रेसका बग्रेल्ती आकांक्षी, माओवादीको पनि दाबी
काठमाडौ ९ मा माओवादी केन्द्रका नेता हितमान शाक्यले उम्मेदवारको दाबी गरेका छन् । कांग्रेसबाट यहाँ दाबी गर्नेको संख्या पनि उल्लेख्य छ ।

केन्द्रीय सदस्यद्वय नानु बाँस्तोला र ध्यानगोविन्द रञ्जित यस क्षेत्रमा कांग्रेसबाट आकांक्षा राख्नेमा अघिल्लो स्थानमा छन् । साथै, काठमाडौं ९ मा दुईपटक क्षेत्रीय सभापतिमा निर्वाचित जयकृष्ण महर्जन र किरण गिरीले पनि इच्छा देखाएका छन् । राप्रपाबाट सुनील थापासँगै गिरी पनि कांग्रेसमा प्रवेश गरेका थिए ।
काठमाडौं ९ मा झिनो मतान्तरले कांग्रेसले पहिलो स्थानको मत ल्याएको छ । कांग्रेसले १९ हजार ९१६, एमालेले १९ हजार २८२, राप्रपा २ हजार ४०१, माओवादी ६९५, एकीकृत समाजवादीले ४६५ मत ल्याएका थिए ।
पुरानै अनुहार
काठमाडौं १० मा कांग्रेसबाट विजयी हुँदै आएका राजन केसी उक्त क्षेत्रमा दोहोरिने पक्षमा छन् । यसै क्षेत्रमा माओवादी केन्द्रबाट अन्जना विशंखेले उम्मेदवार हुने चाहना राखेकी छन् । केसीले यसअघि माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई हराएका थिए ।

काठमाडौं १० अन्तर्गत रहेका स्थानीय तहमा आएको मतले कांग्रेसलाई अन्यत्र भन्दा खुसी ल्याएको थियो । काठमाडौं १० मा ठूलो मतान्तरले कांग्रेस अघि छ । कांग्रेसको पक्षमा २४ हजार ६७५ मत खस्दा एमालेले १८ हजार ८३८ मत ल्याएको थियो ।
गठबन्धनको अर्को दल माओवादीले तेस्रो स्थानको मत ४ हजार ९४२ प्राप्त गर्यो । राप्रपाको पक्षमा २ हजार ४९६ र एकीकृत समाजवादीलाई १ हजार ३४२ मत खसेको थियो ।
प्रतिक्रिया 4