
१ भदौ, काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पशु चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलनको क्रममा उनीहरुले गएराति कृषिमन्त्री मृगेन्द्र कुमार सिंहको पुत्ला जलाएका छन् ।
पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक विच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अगाडि बढाइएको भनी नेपाल भेटेरिनरी एशोसिएसनले देशभरका दर्तावाल पशु चिकित्सकहरु आन्दोलित भएका हुन् ।
द्वैध अर्थ लाग्ने गोलमटोल शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै एशोसिएसनले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
विरोध कार्यकमहरु अन्तर्गत, आज भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भदौ २ गते पेन डाउन गरेर कामकाज बन्द गर्ने, भदौ ३, ४ र ५ गते अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, अनिश्चितकालिन रुपमा भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सीटीभीटी र शिक्षा विभाग अन्तर्गतका स्कुलहरुमा अनिश्चितकालिन अध्ययन अध्यापन बन्द गर्ने, १ दिने चल्ला बाहेकका पशुपन्छीको स्वास्थ्य प्रमाणपत्र अनिश्चितकालिन रुपमा जारी नगर्ने, भदौ ६ काठमाडौ केन्द्रित भेला गर्ने र ७ गते काठमाडौंमा विशेष साधारण सभा गर्ने तय गरेको छ ।
विदेशमा रहेका दक्ष जनशक्ति स्वदेश भित्राउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशतिm पलायन हुने अवस्था सिर्जना गरिएका कारण विरोध गर्नुपरेको चिकित्सकहरुको भनाई रहेको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको बैठकबाट मंगलबार पारित भएको छ । विधेयक पारित भएकै दिन साँझ पशु चिकित्सकहरुले विरोधमा देशका बिभिन्न ठाउँमा कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्र कुमार सिंहको पुत्ला दहन गरेका थिए ।
प्रतिक्रिया 4