
१ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक रुपले टाट पल्टिको छ । आन्तरिक कलह र विवादका कारण प्रतिष्ठान टाट पल्टिएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौलाले स्वेतपत्र जारी गर्दै कर्मचारीलाई तलब खुवाउनै मुस्किल परेको बताएका छन् । ‘खर्च बढेको छ, आम्दानी बढेको छैन,’ उनले भने, ‘विभिन्न कारणले प्रतिष्ठान धरासायी अवस्थामा पुग्यो ।’
प्रतिष्ठानको उपकुलपतिमा डाक्टर ज्ञानेन्द्र गिरी नियुक्त भएपछि प्रतिष्ठान निरन्तर घाटामा गएको संग्रौलाले जारी गरेको स्वेतपत्रले देखाउँछ । २०७६ चैत अन्तिम साता तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले गिरीलाई उपकुलपति नियुक्त गरेका थिए । गिरी २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ढकाललाई भोट माग्न दौडिएका थिए ।
‘उहाँको व्यवस्थापकीय क्षमता कमजोर भएका कारण प्रतिष्ठान धारासायी भयो,’ प्रतिष्ठानका एक पदाधिकारीले भने, ‘उहाँ विरुद्धको आन्दोलन रोकिएको छैन ।’ एक वर्षयता प्राध्यापक, विद्यार्थी र कर्मचारीले प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलन गरिरहेका छन् ।
गिरी उपकुलपतिमा नियुक्त हुनअघि आर्थिक वर्ष २०७५–०७६ मा प्रतिष्ठान ५८ करोड रुपैयाँ मुनाफामा थियो । गिरीको नेतृत्त्व सुरु भएपछि आर्थिक वर्ष २०७६–७७ मा प्रतिष्ठान २९ करोड ४३ लाख नोेक्सानीमा गयो । सो वर्ष आन्तरिक आम्दानी एक अर्ब ९३ करोड ८१ लाख हुँदा सरकारले २६ करोड ४ लाख अनुदान उपलब्ध गराएको थियो । सञ्चालन खर्च २ अर्ब १९ करोड ८५ लाख भएको थियो ।
२०७७–०७८ मा प्रतिष्ठानले ९१ करोड ४३ लाख घाटा बेहोर्यो । सो वर्ष १ अर्ब ७० करोड २८ लाख आन्तरिक आम्दानी हुँदा सरकारले २० करोड ७८ लाख अनुदान दिएको थियो । सञ्चालन खर्च २ अर्ब ८२ करोड ४९ लाख भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा ४१ करोड घाटा भएको थियो । प्रतिष्ठानको आन्तरिक आम्दानी २ अर्ब २० करोड ४२ लाख थियो । सरकारले ५१ करोड २ लाख अनुदान उपलब्ध गराएको थियो । सञ्चालन खर्च ३ अर्ब १२ करोड ४४ लाख भएको रजिष्ट्रार संग्रौलाले जारी गरेको स्वेत पत्रमा उल्लेख छ ।
२०७९ साउन महिनामा शिक्षक कर्मचारी तथा विद्यार्थीको नियमित तलब भत्ता र अन्य सञ्चालनत खर्च र विगतको दायित्व गरी प्रतिष्ठान एक अर्ब ४१ करोड रुपैयाँ बराबर नोक्सानीमा रहेको उनले बताएका छन् । नोक्सानीका कारण प्रतिष्ठान सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए ।

रजिष्ट्रर संग्रौलाका अनुसार प्रतिठानको मासिक सञ्चालन खर्च मात्रै २० करोड ५० लाख हाराहारी छ । आम्दानी भने खर्च अनुसार नभएको उनको भनाइ छ । उनका अनुसार ज्यालादारी बाहेक कर्मचारी एक हजार ९ सय छन् ।
‘प्रतिष्ठानको बास्तविकता जानकारी गराउन स्वेतपत्र जारी गरेका छौं,’ संग्रौलाले भने,‘ प्रतिष्ठानको विकासमा सबै पक्षको सहयोग आवश्यक छ ।’
प्रतिष्ठान सञ्चालनका लागि सुरुवाती अवस्थामा भारतले पनि आर्थिक सहयोग गरेको थियो । ‘भारत सरकार तथा नेपाल सरकार बीचको सम्झौताको अवधि समाप्त भए पश्चात भारत सरकारबाट प्राप्त हुने आर्थिक सहयोग कटौती भयो, भने नेपाल सरकारले समेत विगतको अनुपातमा बजेट बिनियोजन कम गर्दै जानु, प्रतिष्ठानको सेवा विस्तार भएसँगै जनशक्ति थप गर्नु पर्ने बाध्यता र शिक्षक तथा कर्मचारीहरुको तलब तथा सुविधा बृद्धि गर्नुपर्ने अवस्थाले गर्दा प्रतिष्ठानको आर्थिक व्ययभार बृद्धि भयो,’ उनले स्वेतपत्रमा भनेका छन् ।
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी शैक्षिक कार्यक्रमको सिट संख्या तथा शुल्क समेत न्यून रुपमा तोकि निर्धारण गर्नाले र प्रतिष्ठानमा आउने विदेशी विद्यार्थीहरुको सिट न्यून तोकिदिनाले प्रतिष्ठानको आम्दानी घटेको उनले दाबी गरेका छन् ।
नेपाल सरकारले स्वास्थ्य बीमाको करिब ३० करोड रकम पनि नपठाएको उनले बताए । ‘…विगत दुई वर्षदेखि प्रतिष्ठानको आम्दानी एक अर्ब भन्दा बढीले घट्न गयो,’ उनले भनेका छन्, ‘प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवा बाहेक शिक्षक तथा कर्मचारीहरुले पाइरहेको सुविधालाई समेत आर्थिक अवस्था नाजुक भएको कारणले स्थगित गर्नु परेको व्यहोरा अवगत गराउन चाहन्छु ।’
‘प्रतिष्ठान हामी सबैको हो, हामी सबैले मलजल गरे मात्र प्रतिष्ठान फल्छ फुल्छ भन्ने पवित्र भावना बोकेर अगाडी बढ्न आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतिपूर्ण बन्दै गइरहेको छ । यसबाट माथि उठ्न अझै केही समय लाग्न सक्छ ।’
प्रतिक्रिया 4