
१ भदौ, गोरखा । गोरखा संग्रहालयमा पर्यटक आकर्षण गर्न नयाँ उपाय लगाइएको छ, त्यो हो राजा पृथ्वीनारायण शाहको प्रतिबिम्बसँग सेल्फी । त्यसका लागि गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ राजा पृथ्वीनारायण शाहकै जस्तो भेषभूषामा सजिएर तरवार सहित संग्रहालय परिसरमा बस्ने छन् । संग्रहायल परिसर आउने पर्यटकले उनीसँग सेल्फी लिन सक्ने ऐतिहासिक क्षेत्र संरक्षण विकास समिति गोरखाले जनाएको छ ।
पर्यटकलाई थप केही समय जिल्लामा भुलाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान थालिएको समिति अध्यक्ष सुरेशमान श्रेष्ठले बताए । ‘आज औपचारिक रुपमा ‘प्रतिबिम्बमा पृथ्वीनारायण शाह’ भन्ने कार्यक्रमको आरम्भ गर्यौं,’ उनले भने, ‘अब यसले निरन्तरता पाउँछ ।’ उनका अनुसार बिहान १० देखि ५ बजेसम्म श्रेष्ठ पृथ्वीनारायण शाहको भेषभूषामा सजिएर संग्रहालय परिसरमा बस्छन् ।
सेल्फी खिच्न चाहनेले शुल्क पनि तिनुपर्ने समिति सल्लाहकार एवं अभियान संयोजक राजुबाबु श्रेष्ठले बताए । जिल्लाभित्रका पर्यटकका लागि २० रुपैयाँ, जिल्ला बाहिरका पर्यटकका लागि ५० र सामूहिक तस्वीर खिचाउन चाहनेले एक सय रुपैयाँ तिनुपर्ने उनले जानकारी दिए ।
इच्छुक पर्यटकले पृथ्वीनारायण शाहको पोशाक लगाएर फोटो समेत खिच्न सक्ने समितिले जनाएको छ । त्यसका लागि प्रति व्यक्ति तीन सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । जिल्ला आउने पर्यटकलाई घोडा सवारको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।
राज्य एकीकरणको अभियानमा राजा पृथ्वी नारायण शाहले गरेको योगदान र उनले राज्य गरेको गोरखा दरवारको इतिहास प्रचास प्रसारकासँगै संरक्षणमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
समितिको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले जिल्लाको पर्यटन प्रवद्र्धनका आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए । अभियानका लागि गोरखा नगरपालिकाले एक लाख रकम विनियोजन गरेको समेत उनले जानकारी दिए ।
कार्यक्रम पूर्व प्रतिबिम्बको रुपमा पृथ्वीनारायण शाह र कालु पाण्डे बनेका व्यक्तिहरु सहित सदरमुकाममा प्रभातफेरि गरिएको थियो ।
प्रतिक्रिया 4