
काठमाडौं । सुन्दर देखिने मन कसलाई पो हुँदैन होला र ? सुन्दर हुनु भनेको आवरणमा आफूलाई चिरिच्याट्ट देखाउनु मात्र होइन, भित्रैबाट आत्मविश्वास बलियो बनाउनु पनि हो ।
त्यसैले पनि होला आजभोलि युवतीहरू मात्र नभई गृहिणी महिला पनि सुन्दर देखिनका लागि ब्युटी पार्लर धाउँछन् । यस्तोमा कुन उमेर समूहका महिलाहरू बढी पार्लर जान्छन् ? उनीहरु कस्तो सेवा बढी लिन्छन् लगायतका विषयमा काठमाडौंको दरबारमार्गस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलुनकी म्यानेजर समिता बिष्टसँग गरिएको कुराकानी :
पार्लरमा कुन उमेरका महिलाहरू बढी आउँछन् ?
३० देखि ५० वर्ष उमेर समूहका महिलाहरु बढी पार्लरमा आउँछन् । हुन त हरेक उमेर समूहका महिला पुरुषहरू आजभोलि सुन्दर देखिन पार्लर जाने गर्छन् । तर त्यसमध्येमा पनि ३० देखि ५० वर्ष उमेर समूहका महिला बढी आउने गरेको पाइन्छ ।
त्यसमा पनि गृहिणी वा कामकाजी कस्ता महिला धेरै आउँछन् ?
गृहिणी तथा कामकाजी महिला उत्तिकै संख्यामा आउँछन् । तर कामकाजी महिलाहरूको संख्या तुलनात्मक रूपमा बढी देखिन्छ । किनकि उनीहरू आफैं कमाउने भएकाले खर्च गर्न पनि सहज हुन्छ ।
कति अवधिमा उनीहरु पार्लर आउने गर्छन् ?
महिलाहरू प्रायः हप्तामा एकपटक पार्लर आउँछन् । हप्ता दिनमा आउन नभ्याउनेहरु १५ दिनमा त आएकै हुन्छन् । किनकि एकपटक फेसियल गर्यो भने अर्को पटक कलर टच अप गर्नुपर्यो । त्यसैले समय–समयमा पार्लर जानु नै पर्ने हुन्छ ।
उनीहरू पार्लरमा के के गराउँछन् ?
धेरैजसो महिला फेसियलका लागि आउँछन् । मेनिक्योर, पेडिक्योर र कपाल हाइलाइट पनि एकदमै लोकप्रिय छ ।
एकपटकमा उनीहरु कति खर्च गर्छन् ?
एकपटकमा ८ देखि १० हजारसम्म खर्च गर्छन् ।
धेरैजसोले कस्तो हेयर डिजाइन रुचाउँछन् ?
अहिले डबल कलर र हाइलाइट एकदमै ट्रेन्डिङमा छ । अहिले ट्रेन्डिङमा भएको डबल कलर र हाइलाइट नै महिलाहरूले पनि एकदमै रुचाएका छन् । बजारमा चलेको र टिकटकमा यो डिजाइन चलेको छ, त्यस्तै गर्दिनुपर्यो भन्दै पनि आउँछन् ।
स्किन सम्बन्धी के कस्ता सेवा लिन्छन् ?
महिलाहरूले स्किन सम्बन्धी सेवामा फेसियल, मेनिक्योर, पेडिक्योर र स्पा बढी लिन्छन् ।
टिनएजर चाहिं कत्तिको आउँछन् नि ?
टिनएजरहरु पनि आउँछन् । ६० प्रतिशत कामकाजी महिला तथा गृहिणी आउँदा टिनएजर किशोरी ३० प्रतिशत र १० प्रतिशत चाहिं पुरुषहरू पनि आउने गर्छन् । टिनएजरहरु सुन्दरताप्रति धेरै सचेत छन्, तर उनीहरूसँग पैसा नहुने भएकाले सधैं पार्लर आउन सक्दैनन् ।
टिनएजरले कस्ता सेवा लिन्छन् ?
टिनएजरहरु विशेषगरी कपाल सम्बन्धी सेवा लिन आउँछन् । कपाललाई विभिन्न डिजाइनमा काट्न र कलर गर्न बढी मन पराउँछन् । अहिले डबल कलर र हाइलाइट टिनएजरहरुमा पनि लोकप्रिय छ ।
उनीहरुले गर्ने औसत खर्च ?
टिनएजरहरु प्रायः विद्यार्थी हुने भएकाले उनीहरूसँग धेरै पैसा हुँदैन । त्यसैले कामकाजी महिलाहरूले जस्तो खुलेर खर्च गर्न उनीहरू सक्दैनन् । उनीहरूले एकपटकमा ३ देखि ६ हजारसम्म खर्च गर्छन् ।
प्रतिक्रिया 4