
१ भदौ, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा योजना बनाइ पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्मका चुनावबाट उपलब्ध तथ्य, तथ्यांक समेतका आधारमा अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गर्न भनिएको छ ।
कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी तदनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउन आयोगले भनेको छ ।
आयोगका अनुसार विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिनु पर्ने छ ।
आयोगले सुरक्षाकर्मीकम भएमा म्यादी प्रहरी भर्ना गर्न पनि भनेको छ । आयोगले दिएको निर्देशनमा भनिएको छ, ‘सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाको लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई निजहरू सेवा निवृत्त हुँदाका तत्तत् पद अनुसार नियुक्ति दिई परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउने ।’
प्रतिक्रिया 4