
२ भदौ, काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न रोक लगाएका छन् ।
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो ।
तर स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
बुधबार भएको ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्ने भनेर मौखिक आश्वासन प्रशासनले दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया 4