
२ भदौ, काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोर बञ्चरेडाँडामा लैजाने काम सुरु भएको छ । हप्तौंदेखि थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लैजान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको छ ।
महानगरपालिकाका अनुसार बिहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका १८ वटा, समानान्तर निर्माण सेवाका ३० वटा महानगरका १२ वटा गरी ६० वटा टिपरले ट्रान्सफर स्टेसनबाट फोहोर ढुवानी गरेका छन् । थुप्रिएको फोहोर लैजान थालेपछि टेकुका बासिन्दा खुशी भएका छन् ।
समितिले उपलब्ध गराएका टिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।
फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने शृंखला चलिरहेको बेलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए ।
‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु,’ प्रमुख साहले भने ।
ट्रान्सफर स्टेसनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुशी व्यक्त गर्दै प्रमुख साहलाई धन्यवाद दिए । ‘हामी आजको दिनको प्रतिक्षामा थियौं,’ उनले भने ।
टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेका व्यवसायीको भनाइ छ ।
महानगरपालिकाले टिपर भाडामै लिएर बञ्चरेडाँडामा फोहोर पठाइरहेको छ । तर, स्थानीयले निरन्तर अवरोध गरेकाले समस्या भएको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया 4