
२ भदौ, काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मजदुरका मुद्दाप्रति विमुख भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
मजदुर अभियन्ता तथा सरोकार पक्षले नेपाली कांग्रेसको मूल नेतृत्व तथा प्रधानमन्त्री शेरबहादुर देउवा श्रमिक मैत्री नभएको आरोप लगाएका छन् ।
ट्रेड युनियन कांग्रेसका संस्थापक नेता तथा मजदुर अभियन्ता लक्ष्मण बहादुर बस्नेतले भने,‘पार्टीमा उद्योगपति र व्यवसायी हावी भएका छन् । मजदुरका कुरा सुन्न छोडिएको छ ।’
श्रमिकका आवाज राख्ने मूल थलो संसद भएपनि मजदुरबाट प्रतिनिधित्व गराउने पक्षमा दल सकरात्मक नरहेको उनले गुनासो गरे । समावेशी आधारमा प्रतिनिधि चयन हुने व्यवस्था अनुसार क्लष्टर अनुसार मजदुरको प्रतिनिधित्व पनि संसदमा हुनुपर्ने उनले माग गरे ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शुसिल कोइरालाको समयमा ट्रेड युनियन कांग्रेससँग भएको सहमति हालसम्म कार्यान्वयन नभएकोमा उनले दुखेसो व्यक्त गरे । २०७० सालको भाद्र ९ मा तत्कालिन कांग्रेस सभापति कोइराला र ट्रेड युनियन कांग्रेस वीच ७ बुँदे सहमति भएको थियो । तत्कालीन समयमा भएको सात बुँदे सहमतिमा सामाजिक सुरक्षा कोष मात्रै कार्यान्वयनमा आएको छ ।
विदेशमा रहेका श्रमिकले विप्रेषण बढाउँदा खुसी र घट्दा दुखी हुने सरकारले उनका मुद्धामा भने वेवास्ता गरेको बस्नेतको गुनासो गरे । मजदुरका समस्या सुनाउने थलो नीति महाधिवेशन भएपनि सभापतिले नीति महाधिवेशन नबोलाएकोमा उनले आपत्ति जनाए। ‘नीति महाधिवेशनसँग कांग्रेस किन डराएको? हाम्रो समस्या त्यहाँ सुनाउला सोंचेका थियौं । बोलाउन खोजिएन ।’ बस्नेतले भने ।
मजदुर आन्दोलनबाट पार्टी र देशको सर्वोच्च स्थानमा पुगेका गिरीजाप्रसाद कोइरालाको देहवासनसँगै अभिभावकत्व गुमाएको महशुस भएको ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले बताए ।
अन्तरिम संविधानमा राखिएको श्रम आयोगसमेत वर्तमान संविधानमा हटाइएको प्रति ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले दुख व्यक्त गरे । ‘अन्तरिम संविधानमा श्रम आयोगको व्यवस्था गरिएको थियो। संविधान बनाउने बेलामा उद्योगपतिहरु श्रम आयोगको विरुद्धमा बोले ।’ राईले भने,‘रोजगारदाताको कुरा सुनेर श्रम आयोगको व्यवस्था संविधानमा राखिएन ।’
प्रतिक्रिया 4