
काठमाडौं । अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउड निर्देशक विशाल देसाईंले गर्ने भएका छन् ।
फिल्मका निर्माता रघु परियार र निर्देशक देसाईंबीच बिहीबार मुम्बईमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डीबीरआर मिडिया एण्ड मुभिज प्रालिको ब्यानरमा निर्माण हुने ‘सायरा’ दशैंताकाबाट छायांकनमा जाने निर्माता परियारले जानकारी दिए ।
‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ,’ उनले भने, ‘उहाँले हामीलाई गरेको विश्वासले निकै खुसी मिलेको छ ।’
निर्देशक देसाईंले सांस्कृतिक रुपमा नजिक नेपाली फिल्मको अफर आएपछि आफू काम गर्न तयार भएको बताए । नेपाल अहिलेसम्म नपुगेको भए पनि नेपाली जीवनशैलीसँग आफू परिचित रहेको उनले बताए ।
देसाईंले बलिउडमा ‘वीरगति’ र ‘ढोलकी’ फिल्म निर्देशन गरेका छन् भने ‘कामिनी दामिनी’ नामक टीभी सिरियल समेत उनले निर्देशन गरेका छन् ।
फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुन जनाइएको छ ।
प्रतिक्रिया 4