
काठमाडौं । सन् २०२० को अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनले संगीतमार्फत नेपालको संस्कृति र पर्यटन विकासमा सघाउने बताएका छन् ।
आफ्नो पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’बारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संसारभर छरिएका नेपालीमार्फत आफूले नेपाली संगीतलाई प्रवद्र्धन गर्न चाहेको बताए ।
‘नेपालीहरु सबै देशमा हुनुहुन्छ । उहाँहरुले नेपाली संगीत सुनेर फाइदा लिनुहुन्छ । यसबाट नेपाली गीतको प्रवद्र्धन हुन्छ,’ काउब्वाय ह्याट र ब्ल्याक गगल्समा सजिएका उनले भने ।
आफूलाई भोटिङ गरेर आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्याउने नेपाली फ्यानलाई उनले ‘न्यानो नमस्कार’ भने । ‘सबै नेपाली दाजुभाइ दिदीबहिनलाई न्यानो नमस्कार । म खुसी छु,’ उनी सुनिए ।
झण्डै एक महिना नेपालमा रहँदा सांस्कृतिक र पर्यटकीय गतिविधिमा पनि सक्रिय हुने उनले आफूले पोखराजस्ता पर्यटकीय थलो घुम्न चाहेको बताए । अमेरिकी आइडलपछि पहिलोपटक नेपाल आइपुगेका उनले कन्सर्ट गर्न लाग्दा आफू उत्साहित भएको सुनाए ।
काठमाडौं, चितवन, पोखरा, बुटवल, बिर्तामोड, धरान र कीर्तिपुरमा उनको इन्डोर कन्सर्ट हुँदैछ । पहिलो कन्सर्ट शनिबार दरबारमार्गको प्लाटिनम लाउन्जमा हुनेछ ।
आयोजक ब्रेनसर्भिसिङले कन्सर्टमार्फत पर्यटन र संस्कृति प्रवद्र्धन हुने आशा लिएको छ । कम्पनीका संस्थापक रिसम महर्जनका अर्थर गन नेपालमा रहँदा उनको जीवनबारको वृत्तचित्र पनि छायांकन हुनेछ ।
वास्तविक नाम दिवेश पोखरेल भए पनि उनको स्टेज नाम चाहिं अर्थर गन हो । दुवैमध्ये जुन नामले बोलाउँदा पनि आफूलाई प्रिय लाग्ने उनले बताए । कन्सर्टमा अर्थर गनकै जनरा मिल्ने नेपाली स्थानीय गायकलाई पनि गाउने मौका दिइने भएको छ ।
तर पत्रकार सम्मेलनमा उनी केही असहज सुनिए । उनलाई सञ्चारकर्मीले गीत गाउन आग्रह गरे पनि उनी तयार भएनन्, बरु कन्सर्टमै आउन आग्रह गरे । साथै, यसअघि दुई गीत रिलिज गरे पनि आफू नयाँ गीत रिलिजको तयारीमा जुटेको उनले बताए ।
गत महिना लण्डनमा समेत कन्सर्ट गरेका उनले नेपालपछि अस्ट्रेलियामा कन्सर्ट गर्ने तयारीमा छन् ।
प्रतिक्रिया 4