
२ भदौ, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताएका हुन् ।
सो नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताए । नेता रिजालले संसदको कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको पनि स्पष्ट पारे ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरुले हाल आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताए ।
नेता रिजालले भने, ‘आज पास गरिएको नागरिक विधेयक ढुंगाको अक्षर होइन । पछि अरु चिज पनि थप्न सकिन्छ । त्यो गरौला । तर, आज यही बहानामा लाखौं नेपालीलाई नागरिकताबिहीन बनाउने, मुलुकविहीन बनाउने षडयन्त्र गर्ने अधिकार हामीलाई छैन । कुनै व्यक्तिलाई पनि अधिकार छैन । कुनै पनि सम्मानित पदमा बसेको व्यक्तिहोस् त्यो अधिकार छैन । ’
नेता रिजालले एक थरी अनुहारकाले अर्को थरी अनुहारकाको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘एउटै परिवारको दाजुले नागरिकता पायो, बहिनीले नपाउने अवस्था छ । यो समस्या समाधान हुनुपर्छ । एउटा सोच नेपालमा छ । एकथरी अनुहारका नेपालीलाई अर्को थरी अनुहारकालाई नागरिक होइनन भन्ने विशेष अधिकार प्राप्त छ भनेर । त्यसको अन्त्य हुनुपर्दछ ।’
प्रतिक्रिया 4