
३ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । त्यही घुइँचोमा कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिन्छन् ।
मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो लाइन छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन् । प्रहरी भने सुरक्षाका लागि खटाइएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मान्यताअनुसार आजको दिन व्रत बस्ने र कृष्णको पूजा गर्ने चलन छ ।
आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्र प्रमुख पनि जाने चलन छ । आज मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र घुम्न जानेहरुको मेला लागेको छ ।
यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्दछन् । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गर्दछन् ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।
हेर्नुहोस् पाटन कृष्ण मन्दिर क्षेत्रका तस्वीर
प्रतिक्रिया 4