
३ भदौ, काठमाडौं । ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड सोसेर त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ स्थापना भएको छ ।
बायो टेक्नोलोजीका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेका अनुसार यो मेसिनले मासिक १ हजार ५ सय लिटर अक्सिजन उत्पादन गर्छ । मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ । जबकी धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन गर्ने अध्ययनहरुले बताएको उनको भनाई छ ।
बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजीजले उक्त मेसिन निर्माण गरेको हो । यो मेसिन अहिले ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ ।
उक्त मेसिनको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, बागमती प्रदेशका कांग्रेस सभापति, बागमती प्रदेश सभासदस्य विजया श्रेष्ठ केसीले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनमा बोल्दै महानगरप्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताएका छन् । ललितपुर महानगर नयाँ र नौलो काम गर्न रुचाउने बताउँदै वातावरण संरक्षणमा युवा पुस्ताले गरेको कामको प्रसंशा गरे । नगरप्रमुख महर्जनले महानगरको अन्य स्थानमा पनि राख्ने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वगृह राज्यमन्त्री रहेका इन्द्र बानियाँले बागमती प्रदेश सरकारले यस्ता मेसिनहरु निर्माण गरेर प्रदेशभित्रका नगरपालिकाका विभिन्न स्थानमा यो मेसिन राख्ने व्यवस्था मिलाउनुपर्ने बताए । कार्यक्रममा शिक्षाविद् केदार भक्त माथेमाले नेपालमै बसेर काम गर्ने च्याउ बायो टेक्नोलोजीजका युवाहरुलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताएका थिए ।
च्याउ बायो टेक्नोलोजीजका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेले मेसिन विरुवाको विकल्प नभएको बताउँदै प्रदुषण धेरै भएको ठाउँमा यो मेसिन राख्न सकिने बताए ।
प्रतिक्रिया 4