
काठमाडौं । शुक्रबार श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लाग्यो । कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् ।
थारु समुदायले पनि यस पर्वलाई अष्टिम्की भनेर मनाउने गर्दछन् । यस दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मूली अर्थात् मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाइन्छ । चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहिआएको छ ।
ब्रतालुहरु त्यसै दिन साँझ नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ-आफ्नो घरमा टपरीमा तयार गरिएको पूजा सामग्री र त्यसको माथि राखिएको माटाको पालामा दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन् ।
झिसमिसे रातमा पूजा सामाग्रीसहितको बलेको दियो भएको टपरी हातमा लिएर एकै किसिमको थारु पहिरनमा सजिएका युवतीहरु मतहवाको घरमा जाँदै गरेको दृश्य निकै रमाइलो लाग्छ ।
मतहवाको घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा गर्ने प्रचलन छ ।
यसैबीच, काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले भृकुटीमण्डपस्थित पर्यटनको बोर्डको हलमा विशेष कार्यक्रम गरी अष्टिम्की मनाएका छन् । त्यस अवसरमा थारु युवायुवतीहरु आफ्नो मौलिक भेषभूषामा उपस्थित थिए ।
तस्वीरहरु
प्रतिक्रिया 4