
३ भदौ, सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमै एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ का ५८ वर्षीय धनीराम लामिछाने बिहीबार बेलुका मृत भेटिएका हुन् ।
सोही घटनालाई लिएर मृतकका आफन्तले सहायक वन अधिकृतसहित कार्यालयकै चार कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका छन् । मृतकका आफन्तले शुक्रबार बेलुका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
लेकवेशी नगरपालिका–१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको बिहीबार बेलुका मृत्युभएपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै कारबाहीका लागी किटानी जाहेरी दिएका हुन् ।
लामिछाने दम्पतीलाई मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले पक्राउ गरेका थिए । सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले बताए । ‘उहाँलाई हामीले कार्यालयको हिरासतमा राखेका थियो । पछि झुन्डिएको अवस्थामा फेला गर्नुभएको हो’ प्रमुख रावतले भने ।
उता, आफन्तले भने पक्राउ गरी कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन् । मृतक लामिछानेका भाइ रामप्रसाद लामिछानेले भने वनका कर्मचारीको कुटपिटबाट मृत्यु भएपछि आत्महत्या देखाउन डोरीले झुण्ड्याइएको आरोप लगाए ।
‘कुटपिटमा संलग्न कर्मचारीलाई पक्राउ नगरिएसम्म शव बुझ्दैनौं । घटनाको मुचुल्का लगायत प्रक्रियामा पनि सहभागी हुनेछौनौं,’ उनले भने । किटानी जाहेरी दिइएका सहायक वन अधिकृत वाहेक अन्य ३ जना प्रहरी सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको छ । सहायक वन अधिकृत पनि साँझसम्म प्रहरी सम्पर्कमा आइसक्ने डिवजन वन कार्यालयले जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै आफन्तहरूले वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् । घटनाबारे अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
छानबिन समिति गठन
घटनापछि आफन्तको दबाबमा मृत्यु भएको विषयमा छानबिनका लागि समिति गठन गरिएको छ ।
शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत गठन गरिएको हो ।
प्रजिअ रिजालका अनुसार छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेका छन् ।
उक्त समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ । समितिको छानबिन प्रतिवेदन र शव परीक्षणको रिपोर्टका आधारमा थप कानुनी प्रक्रिया लैजाने प्रजिअ रिजालले बताए ।
प्रतिक्रिया 4