
५ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।
‘दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन्,’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘नाका बन्द हुँदा व्यवसायीको करोडौं मूल्यको दशैंको बन्दाबस्ती र खाद्यान्नको सामान अलपत्र परेको छ ।’ नाको अवरोधका कारण व्यवसायीहरु धराशायी हुने खतरा बढेको पनि महासंघले जनाएको छ ।
विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न व्यवसायीहरुले निकै समस्या खेपिरहेका बेला नाकामा भएको अर्को अवरोधले व्यवसायी झनै मर्कामा परेको भन्दै सबै सरोकारवालालाई समस्या समाधानमा लाग्न महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया 4