
काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ । फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ ।
छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो ।
कलाकारले दैनिक पारिश्रमिक नपाउने सहितका केही सर्तमा फिल्म सुटिङ सुरु भएको तेलुगू सञ्चारमाध्यमले जनाएका छन् । ‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको उल्लेख गरेका छन् ।
सुकुमार निर्देशित फिल्म पुष्पा : द राइजमा अल्लु अर्जुनले रक्तचन्दन ओसारपोसार गर्ने एक लरी चालकको भूमिका निर्वाह गरेका छन् । एक वर्षअघि रिलिज भएको फिल्मले कोरोना महामारीपछि व्यावसायिक सफलता हासिल गर्ने पहिलो फिल्म बनेको थियो ।
फिल्मले विश्व बक्स अफिसमा ३०० करोड भारु कमाएको जनाइएको छ । हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा फिल्म रिलिज भएको थियो । यो फिल्म भारतभर रिलिज हुने अल्लु अर्जुनको पहिलो फिल्म पनि थियो ।
पुष्पा : द रुल चाहिं सन् २०२२ को डिसेम्बरमा रिलिज हुने हिन्दूस्तान टाइम्सले जनाएको छ ।
यसैबीच, रजनीकान्तको फिल्म ‘जेलर’को छायांकन पनि सोमबारदेखि सुरु भएको पिंकभिल्लाले जनाएको छ । निर्माताले रजनीकान्तको जेलर लुक्स पनि सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया 4