
६ भदौ, जनकपुरधाम । गाउँका एकल महिलाले वडा कार्यालयबाट भत्ता लिइरहँदा तारादेवी सदाले आफूले किन नपाएको भनेर सोधखोज गरिन् । यस्तो भत्ता त आफूले पनि पाउनुपर्ने हो भन्ने उनलाई लागेको थियो ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जकी उनी वडा कार्यालयदेखि पालिकाको कार्यालयसम्म गइन् । त्यस क्रममा उनले नागरिकता नभएकाले भत्ता पाउन नसकेको थाहा पाइन् । ‘नागरिकता त छँदै थिएन’, उनी भन्छिन्, ‘यो नागरिकता बनाउन धेरै पटक जिल्ला प्रशासन कार्यालयसम्म पुगें । तर बन्न सकेको थिएन ।’
आइतबार उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाइन् । अब उनले सामाजिक सुरक्षा भत्ता पनि पाउनेछिन् । ‘बिहे भएको ५ बर्षमै श्रीमान बित्नुभयो । दुई छोरालाई पाल्न निकै मिहिनेत गर्नुप¥यो’, ३९ बर्षीया तारादेवी भन्छिन्, ‘नागरिकताका लागि धेरै दौडधुप गरेपनि बन्न सकेको थिएन ।’
‘कहिल्यै यो कागज मिलेन, कहिले त्यो कागज मिलेन भनेर उनलाई सधैं फिर्ता पठाइन्थ्यो’ तारादेवीलाई नागरिकता बनाइदिन सहजीकरण गरेका भोर नामक संस्थाका अध्यक्ष पचुलाल माझीले भने, ‘आवश्यक कागजात र प्रक्रियाको अज्ञानताको कारण उनको नागरिकता बन्न पाएको थिएन ।’
प्यारालाइसिसले थलिएका उनका श्रीमानको १५ बर्षअघि मृत्यु भएको थियो । दुई छोरा हुर्काउन सामाजिक सुरक्षा भत्ताको रकमले उनलाई धेरै भरथेग हुन्छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतो नागरिकता पाएकी उनलाई चाँडै एकल महिलाको सामाजिक सुरक्षा भत्ता दिलाउन पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया 4