
डा. बाबुराम भट्टराई मलाई औधी मनपर्ने नेता हुन्। उनका हरेकजसो लेख, किताब र अन्तर्वार्ता मैले पढेको र हेरेको छु। यो मेरो दाबी हो। केही छुटेको पनि होला। म आफैंले पनि धेरैपटक अन्तर्वार्ता गरेको छु। उनीसँगको अन्तर्वार्तामा राजनीतिक सिद्धान्त र व्यवहारबारे कुरा गरेको छु।
नेपालको राजनीतिलाई सुविधा र अवसरवादको रूपमा प्रयोग भएको विषयमा संवाद गरेको छु। पछिल्लो समयका विश्वका उम्दा बौद्धिक व्यक्तिहरू युवल हरारी र उनको पुस्तक स्यापियन्सको विषयमा पनि कुरा गरेको छु। फ्रान्सिस फुकियामाको इतिहासको अन्त्य ( द इन्ड अफ हिस्ट्री) को विषयमा पनि छलफल गरेको छु।
उनी विचारले उन्नत, व्यवहारले सुस्पष्ट स्फटिक छन्। कुनै एउटा विचारमा असामयिकता, असान्दर्भिकता र असामाजिकता बोकेको जड विचार अविचार हो। जसरी मानवीय स्वभाव र चरित्र नबोकेको मानव संरचना अमानस हो। विचार परिवर्तनशील हुन्छ। समाजको आवश्यकताले विचारको निर्माण गर्छ। त्यसैको ज्वलन्त उदाहरण हो बीपीको प्रजातान्त्रिक समाजवाद।
गान्धीबाट प्रभावित बीपी अहिंसावादी हुनुपर्ने तर उनले आफैंले नै बन्दुक चलाए। जहाज अपहरण गराए। पैसा लुट्न लगाए। राजतन्त्र विरोधी अभियान चलाए। र फेरि राजासँग गर्धन जोडे। यी सबै तत् तत् समाजको समयको आवश्यकताले विचारमा परिवर्तन भयो।
बीपीले मात्रै होइन बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको निर्दलीय वामपन्थी एकात्मकता बोकेको वामपन्थी विचारलाई विश्व राजनीतिक बदलाव, नेपालको भूराजनीति र सामाजिक परिवेशलाई मध्यनजर गरी बीपीवादको छायाँको रूपमा हेर्न मिल्ने जनताको बहुदलीय जनवादको अवधारणा अघि सारे। यो मेरो अबुझाइ वा अर्धबुझाइ पनि हुन सक्छ।
लेनिनको जनवादी केन्द्रीयता
कार्ल मार्क्स हेगलबाट निकै प्रभावित थिए। तर हेगलको आदर्शवादी विचारमा उनी सहमत थिएनन्। हेगलको व्यक्तिको नियन्त्रण र सम्झौतावादी विचारको खण्डन गर्दै द्वन्द्वात्मक भौतिकवादको विचार ल्याए मार्क्सले। समाजका हरेक खण्ड–खण्डमा श्रमिक वर्गको जबर्जस्त शासनको पक्षमा उभिए। उनको त्यो विचारमा जनवाद, बहुलवाद, उदारवाद र स्वतन्त्रता नभएर नितान्त श्रमिक निरंकुशताको मार्ग थियो।
मार्क्सका अत्यन्त नजिकका साथी र अनुयायी पनि भ्लादिमिर लेनिनले विश्व परिवेश र तत्कालीन समाजलाई हेरेर मार्क्सको वामपन्थी केन्द्रीयता र समाजवादी श्रमिक निरंकुशताको विपक्षमा एउटा छुट्टै लोकतान्त्रिक वामपन्थको अवधारणा अघि सारे। त्यो नै जनवादी केन्द्रीयता अर्थात् डेमोक्रेटिक सेन्ट्रलिज्म। बेन्थमको जस्तो बहुजन हिताय; बहुजन सुखाय: ( म्यक्सिमम् प्लेजर फर म्याक्सिमम् नम्बर्स) भन्ने विचार र सरकारको अपार शक्तिको अवधारणा केन्द्रमा रहने केन्द्रीयताको विचारको संयोजन हो।
यही विचारबाट प्रभावित बीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद प्रतिपादन गरे। लोकतन्त्र र वामपन्थको सामयिक संयोजन हो- प्रजातान्त्रिक समाजवाद। तत्कालीन जहानियाँ राणाशासन अन्त्य गर्दै सामाजिक रुपान्तरणको फराकिलो र सुदूर अवधारणा हो प्रजातान्त्रिक समाजवाद। निरंकुश शासनको अन्त्य गरी लोकतान्त्रिक अभ्यासको मार्ग हो।
कांग्रेस माओवादीको तालमेल र गठबन्धन
बीपीले जब प्रजातान्त्रिक समाजवादको अवधारणा ल्याए त्यो वास्तवमै निरंकुशता विरुद्धको लोकतन्त्रवादी र समाजवादीको ध्रुवीकरण थियो। यही ध्रुवीकरणले निरंकुशता अन्त्य हुन्छ भन्ने नै हो। अहिलेको पाँचदलीय गठबन्धन जुन अझ बढी फराकिलो बन्दैछ वास्तवमै बीपीवादको व्यावहारिक प्रयोग हो।
नेपाली कांग्रेसभित्रै दुईवटा र्याडिकल अपोनेन्ट कसरी मिल्न हुन्छ ? यो त सत्ता स्वार्थको मिलन हो भनेर आदर्शवादी अभिव्यक्ति आउने गर्दछ। तर वास्तवमा यो गठबन्धन न त सत्ताको लागि हो न स्वार्थको लागि नै।
यो त लोकतन्त्र, स्वतन्त्रता, संविधान रक्षा र जनताको अधिकार स्थापित वर्तमान शासकीय स्वरूपको संरक्षणका लागि हो। भविष्यमा हुनसक्ने संभावित निरंकुशताको अन्त्यको लागि हो। यो बीपीवादको सामयिक प्रयोग हो।
वामदेव–बाबुराम एकै ठाम
हार्बर्ड विश्वविद्यालयका प्राध्यापक प्रसिद्ध अमेरिकी विचारक डेनियल बेलले सन् १९६० मा विचारधाराको अन्त्य (द इन्ड अफ आइडिओलोजी) नामक पुस्तक लेखे। उनको यो पुस्तकको एउटै निष्कर्ष हो- कुनै पनि विचार कुनै विशेष समय, समयसीमा र समाजको तत्कालीन वास्तविकतासँग मात्र सामयिक र सान्दर्भिक हुन्छ। उनले उक्त पुस्तक दोस्रो विश्वयुद्धपछिको तत्कालीन परिस्थितिलाई मूल्याङ्कन गरी लेखेका हुन्।
खासगरी दोस्रो विश्वयुद्धसम्म विश्वमा जम्मा चार वटा विचार स्थापित थिए— इटालियन फासीवाद, जर्मनी नाजीवाद, सोभियत साम्यवाद र अमेरीकी पूँजीवाद।
यी चार वादमा फासीवाद र नाजीवादको अन्त्य भयो भने दुईवटा विचार पूँजीवाद र साम्यवाद मात्रै बाँकी रहे।
यही तथ्य नै डेनियल बेलको विचारधाराको अन्त्यको सार हो। नेपालमा वामपन्थी समाजवादी चिन्तकमा डा. बाबुराम भट्टराई, वामदेव गौतम र घनश्याम भूसाल लगायत छन्। उनीहरू राजनीतिक पदीय आकांक्षाबाट टाढा रहनसकेका छैन। यी तीनैमा सिद्धान्तमा अटल, विचारमा सामयिकता र सामाजिकता जरुरी छ भन्ने बुझाइ छ।
विचारको जडताले समाजलाई आदिम, पछौटे र असभ्य बनाउँछ भन्ने उनीहरूले पक्कै बुझेका छन्। त्यसैले विचारमा सामयिक रुपान्तरणमा विश्वास गर्छन्। संविधान निर्माण लगत्तै डा. बाबुराम भट्टराईले अब म माओवादी पार्टीमा छैन भने। नयाँ शक्ति निर्माण गर्न लाग्छु भने। नयाँ शक्ति निर्माण पनि गरे। निरंकुश राजतन्त्रको अन्त्य र संविधानसभामार्फत संविधान निर्माणसम्म माओवादी विचारको उपादेयता हो भन्ने बुझाइ उनमा देखिन्छ। अबको क्रान्ति आर्थिक परिवर्तनमा केन्द्रित हुनुपर्छ भन्ने बुझाइ उनको छ।
राजनीतिक परिवर्तनमा हिंस्रक माओवाद, आर्थिक रुपान्तरणमा वैज्ञानिक समाजवादको अवधारणा डा. भट्टराईको हो। यो उनको प्राज्ञिक राजनीतिक अवधारणा हो। जे एस मिलको प्रयोगवाद युटिलिट्यारीयनिज्मसँग नजिकको साइनो छ जस्तो लाग्छ वामदेव गौतमलाई। राष्ट्रियता र समाजवादमा गौतम सिद्धहस्त देखिन्छन् तर पदीय महत्वाकांक्षाले उनको अवसरवाद बढी प्रस्फुटित भयो।
निर्भीक, परिवर्तनप्रेमी र समाजवादी वामपन्थी गौतम शक्ति र स्वतन्त्रता, व्यक्ति र राज्यमा सन्तुलन कायम गर्ने राजनीतिक सिद्धान्तमा निपुण नै मानिन्छन्। आज यी दुवै जना डा. भट्टराई र गौतम प्रचण्डसँग जोडिएका छन्। यो योग र संयोग नै समाजवाद हो।
समाजको आवश्यकता अनुसार विचारको निर्माण र व्यवहारको प्रस्तुति नै समाजवाद हो। न कि मार्क्सवादी र माओवादी जडता समाजवाद हो। हेगललाई मार्क्सले मानेनन्। मार्क्सलाई लेनिनले। लेनिनलाई स्टालिनले र स्टालिनलाई ख्रुश्चेभले मानेनन्। मानेनन् भन्नुको अर्थ उनीहरूमा रोकिएनन्। राजनीतिक सिद्धान्तको मुख्य गन्तव्य शक्ति र स्वतन्त्रताको विषयलाई आ-आफ्नो ढंगले बुझे र बुझाए। व्यवहार पनि त्यसै अनुसार गरे। मार्क्स र लेनिनकै विचारमा माओ अडिएनन्।
वर्गविहीन समाजबाट समाजवाद होइन, कृषि क्रान्तिबाट समाजवाद भन्ने नै माओवाद रह्यो। त्यही विचारलाई देनसाओपिङ्ले मानेनन्। त्यसैले त बेलको पुस्तकपछि राजनीतिक बहसमा राजनीतिक सिद्धान्तको अवशेषीकरण (डिक्लाइन अफ पोलिटिकल थ्यौरी) भन्ने आयो।
कुनैबेला डा. बाबुराम भट्टराईलाई देवत्वकरण गरियो। अहिले उनै भट्टराईलाई दानवीकरण गरिंदैछ। व्यक्ति न त देवता हुन्छ न दानव नै। उ त केवल मानव मात्र हुन्छ व्यवहार मानवीय हुँदासम्म।
बाबुराम-वामदेवको यो एकै ठाम कता–कता अवसरवाद, भयवाद र समर्पणवादसँग जोडिएला तर वास्तवमा यो लेनिनवाद हो। यो एकप्रकारले बीपीवाद हो, बहुदलीय जनवाद हो। पाँचदलीय गठबन्धनको फराकिलो स्वरूप हो। यसलाई सही अर्थमा ग्रहण गर्न सक्दा यो लोकतान्त्रिक समाजवादी यात्राको प्रस्थानविन्दु हुनसक्छ।
प्रतिक्रिया 4