
६ भदौ, गुल्मी । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या नहुने बताएका छन् ।
सोमबार समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले सिट बाँडफाँट शीर्ष नेतृत्वले टुंगो लगाउने बताएका हुन् । आफूले धेरै सिट पाए हुन्थ्यो भन्ने चाहना सबै दललाई भए पनि सहमतिमै सिट बाडफाँट टुंगिने उनको भनाइ छ ।
खनालले अहिले चुनावपछि कसले के पद पाउने भन्नेबारे छलफल नभएको पनि बताए । अहिले निर्वाचन सफल बनाउनु नै प्रमुख कुरा रहेको भन्दै उनले पार्टीको निर्णय र आवश्यकताको आधारमा पद बाँडफाँट हुने दावी गरे ।
खनाल पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आइतबार गुल्मी आएका थिए । नेता खनालसँगै एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री पनि गुल्मी आएकी छन् ।
प्रतिक्रिया 4