
६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् ।
विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।
नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको आह्वानमा आह्वानमा देशभरिका कर्मचारी आन्दोलित भएका छन् ।
सोमबार सिंहदरबारका कर्मचारी, न्यायिक अड्डा–अदालतका कर्मचारी, सबै स्थानीय तहका कर्मचारी आन्दोलित भएको ओलीले बताए । कर्मचारीले संघीय निजामती ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।
कर्मचारीहरुले सोमबार एक घण्टा धर्ना दिएका छन् भने कार्यालय समयभरि कालोपट्टी बाँधेर काम गरेका छन् । ओलीका अनुसार १७ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने गर्ने उनीहरुले बताएका छन् ।
ओलीले संयुक्त ट्रेड युनियन सञ्जालले अन्य माग पनि उठाएको बताएका छन् । सञ्जालले क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन् ।
त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न, राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सहभागितासहित पे कमिसन गठन गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गर्न र अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन् ।
सोमबार करिब १ लाख कर्मचारीहरुले कालोपट्टी बाँधेर काम गरेका छन् । यस क्रममा सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा केहि बेर धकेला–धकेल समेत भएको छ ।
अर्थमन्त्रालयमा कर्मचारीहरुले धर्ना गर्ने बेला प्रहरीले कालोपट्टी खोलेर ब्यानर हटाउन भनेपछि निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलसँग विवाद भएको थियो ।
पोखरेलसहित कर्मचारीहरु प्रतिवादमा उत्रन खोज्दा केहिबेर धकेलाधकेल भए पनि पछि साम्य भएको अर्थमन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
प्रतिक्रिया 4