
एकै क्षण कल्पना गरौं त ! हजारौं वर्षअघि खुवालुङ नखुलेको भए नेपाल कस्तो हुन्थ्यो होला ! खुवालुङ यदि नखुलेको भए यहाँ हेन्खामाको मिथक हुँदैनथ्यो। तायामा र खियामाको मिथक हुँदैनथ्यो। लिम्चिङबुङको मिथक हुँदैनथ्यो। फक्ताङलुङको मिथक हुँदैनथ्यो। कर्याङकुरुङको कथा सुनाउने आमाहरू हुँदैनथे। थिबियाको मिथक हुँदैनथ्यो। साल्पापोखरी, सिलिचोङ, चोमोलुङमाको कथा हुँदैनथे।
आम्लारीफुङको मिथक हुँदैनथ्यो। साकेला र धाननाचको अस्तित्व हुँदैनथे। निन्वाम–रिदम/सुम्निमा–पारुहाङ/तागेरा निङ्वाफुङमाङको मिथक हुँदैनथ्यो। आयोसा, हियारी र हाक्पारेका लय हुँदैनथे। उभौली र उधौलीको याम हुँदैनथे। र मुख्यतः ‘खुवालुङ’को सभ्यता हुँदैनथ्यो। यी सब नभएको भए आधा नेपाल हुँदैनथ्यो।

त्यही ‘खुवालुङ’ २०७७ फागुन ८ अघिसम्म जम्माजम्मी मुन्दुम/मुन्धुमको लयभित्र मात्रै सीमित थियो। बढी भए मुन्दुमी र केही प्राज्ञिक व्यक्तित्वहरू बीचमा सामान्य चर्चाको विषय थियो। बाँकी दुनियाँ ‘खुवालुङ’बारे सायदै जानकार थियो। तर, उल्लिखित मितिमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेटबोट संचालनका लागि सप्तकोशीमा रहेको ढुंगोलाई फुटाएर बाटो क्लियर गर्ने अभिव्यक्ति दिए, उनका लागि यो सामान्य ढुंगा थियो।
विकासको वास्तविक परिभाषा नजानिसकेको समाजअघि उनको अभिव्यक्ति तथाकथित विकासको भयंकर भिजन थियो। तर, किराती समुदायका लागि त्यही ‘खुवालुङ’ हजारौं वर्षअघि निर्मित सभ्यताको साक्षी थियो। ओलीको अभिव्यक्तिप्रति विस्तारै आलोचनाको भँगालो गड्गडाउन थाल्यो।
प्रतिरोधको ज्वारभाटा बढ्दै गयो र त्यसबेला ओलीको निर्देशनमा ‘खुवालुङ’ फुटाउने ठेक्का पाएको शेरधन राई नेतृत्वको प्रदेश सरकारपछि हट्न बाध्य बन्यो। त्यसपछि भने ‘खुवालुङ’ले हरेक वृत्तमा चर्चा पाउन थाल्यो। जो, सबैलाई ज्ञात हुनैपर्ने किरात सभ्यताको एउटा साक्षी थियो।
यसैबेला संघीय राजधानीमा अवस्थित मण्डला थिएटरमा एक महिनाअघिदेखि ‘खुवालुङः ढुंगाको बाटो’ नाटक मञ्चन भइरहेको छ। नाटकले खुवालुङबारे थप चर्चा र यसको सर्वत्रता बढाएको छ। नाटकलाई मुख्यतया किराती समुदायको जीवनशैली, पूँजीवादी विकास र पहिचानको आन्दोलनमाथि केन्द्रित गरिएको छ।
खुवालुङ, पहिचान र राज्य
‘पहिचान’ शब्द देख्ने र सुन्नेबित्तिकै तर्सिने वा यसलाई ‘जातिवाद’को आरोपले तुच्छ बनाउनेहरूको भीड राम्रै छ। यद्यपि, पहिचानको आन्दोलनले ‘जातिवाद’लाई नभएर सबै जातिको समान अधिकारको वकालत गर्छ। पहिचानको असली योद्धाहरूले यसको अर्थलाई प्रस्ट्याउन नसक्दा भ्रम सिर्जना हुनु अस्वाभाविक छैन।
खुवालुङ नाटकले त्यही मुद्दाको उठान गरेको छ। किरातीहरूको मान्यताअनुसार कुनै जात सानो–ठूलो नहुने वा दास–मालिक नहुने कुरा सिकाउँछ। पूँजीवादी विकासको लहडमा लागेर सांस्कृतिक मूल्यमान्यता र प्रकृतिप्रति निर्मम बन्दै गएको राज्यसँग विद्रोह गर्न सिकाउँछ।
‘खुवालुङ’को मिथकबारे धेरै गन्थन नगरौं। नाटकको सुरुवाती दृश्यमा कोपा–नाती चेफा चढेर मधेश झरिरहेका हुन्छन्। सँगै पिपिरे बाजे बस्तु चराउँदै पात बजाएर किराती फ्लेवरको धुन निकालिरहेको हुन्छ। लगत्तै जहाज लिएर वडा अध्यक्षको टोली नदीको सयर गर्दै अघि बढिरहेको हुन्छ। जीवनयापनको एउटा माध्यम चेफा र जहाजमा सवार दृश्यले रैथाने जीवनशैली र आधुनिकता बीचको द्वन्द्वलाई देखाउँछ।
कोपा र नातीको सयर चलिरहेको चेफाले उपभोक्तावादले गिजोलेको नाति पुस्ता र प्रकृतिमैत्री जीवन व्यतीत गरेको कोपा पुस्ताबीचको अन्तर देखाउँछ। नातीको चाहना छ, चेफा छोडेर डाँडामा भ्यूटावर बनाउने अनि टन्न पैसा कमाउने। तर, कोपा भने यसको सीधा विपक्षमा उभिन्छन्। अहिलेको गाउँघरले भोगिरहेको यथार्थ ठ्याक्कै यही छ।
जब निश्चित दूरी पार हुन्छ, जहाजको क्याप्टेनले अगाडि ठूलो ढुंगा देख्छ। अध्यक्षको टोली जसरी पनि जहाजलाई अगाडि बढाउने विकल्प खोज्छ। तर, क्याप्टेनले पछाडि फर्कनुको विकल्प नरहेको बताउँछ। अन्ततः सरकारको निर्देशन आउँछ-‘जहाजलाई अगाडि बढाउन ढुंगा फोडिदिनु’।
यसरी विकासको नाममा राज्य हाम्रो संस्कृति र प्रकृतिमैत्री जीवनपद्धतिमाथि निरंकुश बनेको छ, हामी त्यसैको हिमायती बनेका छौं। अहिले पनि एकल जातीय चिन्तनबाट ग्रस्त राज्य खुवालुङलाई तहसनहस पार्न चाहन्छ, हामी संरक्षण र सम्वर्धन। अझ भनौं, नाटकमा देखिएको खुवालुङ राज्यसँग विद्रोह गरिरहेका हरेक विद्रोहीहरूको एक शक्तिशाली प्रतिनिधि बनेको छ।
खुवालुङ तर्नुअघि युद्ध ?
नाटकमा किरातीहरूले बाँचेको मुख्यतः दुई वटा युगलाई देखाइएको छ— शिकारी र कृषि युग। यही सन्दर्भमा नाटकले देखाएको इतिहासप्रति प्रश्न गर्नुपर्ने किनार आइपुग्छ। ‘खुवालुङ तर्नुअघि किरातीहरूले गोर्खालीहरूसँग कहिले युद्ध गरे ?’
नाटकमा किराती गण शिकार गर्न निस्कन्छ। उक्त गणले दुई वटा बँदेल फेला पार्छ, तर शिकार उम्किन्छन्। त्यसपछि गणको केही जान्ने व्यक्तिले माङलाई पुकार गर्छ। पुकार गर्दा त्यस ठाउँमा शिकार फेला नपर्ने माङले बताउँछ। भोकै हुने भएपछि गणका केही सदस्यले त्यस स्थानलाई छोडेर अन्यत्रै जानुपर्ने राय राख्छन्। तर गणको बहुमतले त्यहीं बसेर खोरिया फाँड्ने विकल्प दिन्छन्। त्यही निर्णय सदर हुन्छ। यसले आदिवासी/जनजातिहरूको आफ्नो थातथलोसँगको सम्बन्धलाई गहिरो गरी झल्काएको छ।
त्यसपछि उनीहरू कृषि युगमा प्रवेश गर्छन्। कृषिका हरेक क्रियाकलाप साकेला सिलीमार्फत प्रदर्शन गरिएको छ। यसले नाटकलाई थप रोचक र ऐतिहासिक बनाइदिएको छ। उनीहरूले कृषि युगमा प्रवेश गरिसके पनि शिकारी युगबाट पूर्ण रूपले आफूलाई अलग्याइसकेका हुँदैनन्। उक्त कुरा नदीको किनारामा इत्रिंदै नुहाई–धुवाई गर्ने महिलाहरूको संवादले थाहा दिन्छ। यहाँनिर पनि एउटा प्रश्न जन्मन्छ– ‘दशौं हजार वर्ष पहिले बोलिने भाषा यति लाक्षणिक र समृद्ध थियो ?’
यही बेला पृथ्वीनारयण शाहले पठाएका रामकृष्ण (?) कुँवर नेतृत्वको सेनाले ती महिलाहरूलाई देख्छन्। लगत्तै महिलाहरू त्यहाँबाट ओझेल पर्छन्। केही समयपश्चात कुँवरले आफ्ना दलबलसहित किराती गणले भोगचलन गरिरहेको भूमि आफ्नो राजालाई मन परेको र सकेसम्म विना युद्ध उक्त भूमिलाई खाली गर्न, नत्र युद्धको लागि तयारी हुन आह्वान गर्छ। किरातीहरू आफ्ना बैरी विरुद्ध कठोर युद्धमा होमिन तयार हुन्छन्। युद्धमा कुँवरबाहेक सबै गार्खाली र किराती गणतर्फ पनि केहीको मृत्यु हुन्छ।
सख्त घाइते भएका कुँवरले आफ्नो ज्यानको भीख माग्छ। कुँवरले आफू त्यस राज्यको दास भएरै बाँच्न मञ्जुरी जाहेर गर्छ। तर किराती समुदायमा दास–मालिकको प्रथा नभई सबै समान रहने गरेको बताइन्छ। हाङछमाले समेत मुन्दुमी संस्कारअनुसार पराजितहरूलाई प्रेम गर्नुपर्ने बताउँछ र कुँवरले जीवन प्राप्त गर्छ।
कुँवरको उपचारमा हाङछमा आफैं लाग्छ। औषधिमूलो गर्ने क्रममा कुँवर र हाङछमाबीच नजानिंदो प्रेमसम्बन्ध झांगिन पुग्छ। त्यसैबेला गाउँमा महामारी फैलिएर बिरामी र मृत्यु हुनेको संख्या बढ्छ। उक्त खबर हाङछमालाई पुग्छ। युद्धमा धेरै मानिसहरूको मृत्यु भई शव व्यवस्थापनमा कमजोरी हुँदा महामारी फैलिएको संकेत मिल्छ।
त्यसैकारण उक्त खोरियामा अब बस्न–खान मुस्किल हुने भएकाले अन्यत्र सर्नका लागि झाँक्रीले फेरि माङसँग पुकार गर्छ। पुकार गर्दा उत्तरतर्फको हिमाल र पहाडतिर फलिफाप हुने पत्ता लाग्छ र उनीहरू पानीको मूल मुहान खोज्दै हिमालतर्फ लाग्ने निर्णयमा पुग्छन्।
पहाड र हिमालतर्फ जानका लागि दूधकोशी, अरुण र तमोरको त्रिवेणी पार गर्नुपर्ने हुन्छ। त्यही त्रिवेणीमा अवस्थित छ, ‘खुवालुङ’। जेठा र माइला भाइसहित केहीले नदी पार गर्छन्। तर, हाङ्छमा र कुँवरको नदीमै बगेर मृत्यु हुन्छ भने कान्छा भाइ साविककै स्थानमा रहन्छ।
केही थप प्रश्न
खुवालुङको मिथक र युद्धको इतिहासको कालखण्ड नाटकमा उल्टो रूपले प्रस्तुत हुन पुगेको छ। समथर भूभागबाट उत्तरतर्फ लाग्ने क्रममा खुवालुङ बन्द थियो। जेठा भाइले जुरेली चराको आलो रगत भोग दिएपछि खुवालुङ खुल्यो र पार गर्यो। माइला भाइले तर्ने बेला फेरि खुवालुङ बन्द भयो। उनले सँगै रहेको चेलीको कान्छी औंला काटी भोग दिएर पार गरे। कान्छा भाइले दाइहरूले पछ्याएको बाटो पहिल्याउन नसकी खुवालुङ पारि नै रह्यो।
अब अलिकति इतिहासलाई नियालौं। गोर्खाली र किराती (खम्बु)हरूबीच वि.सं. १८२० को आरम्भकालदेखि युद्ध सुरु भएको देखिन्छ। सुरुवाती चरणमा भादगाउँका चौकोट र धुलिखेलका महिन्द्रसिं राय र नामसिं रायलगायतले गोर्खाली विरुद्ध डटेर युद्ध लडेका थिए।
त्यसैगरी वि.सं. १८२९ मा गोर्खालीहरूले चौदण्डीगढीमा विजय हासिल गरेका थिए (अर्जुन माबुहाङ र भरत तुङ्घङ, ‘हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान्–लिम्बुवान् युद्ध’ विश्व याक्थुङ मुन्धुम समाज, धरान, २०७०, ६९–७१)।
त्यसक्रममा मकवानपुरको बाटो भई तराई क्षेत्रबाट ‘सरदार’ पारथ भण्डारी, कीर्तिमान खवास तथा बलि बानियाँहरूले चौदण्डी राज्यतर्फ अघि बढ्ने जिम्मेवारी पाएका थिए भने ‘सरदार’ रामकृष्ण कुँवर र ‘सरदार’ अमरसिंह थापाहरूले राजधानी काठमाडौंबाट पहाडै–पहाड पूर्व अगाडि बढ्नुपर्ने जिम्मेवारी पाएका थिए (बाबुराम आचार्य र योगी नरहरिनाथ, राष्ट्रपिता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश, प्रा. श्रीकृष्ण आचार्य, १५ आषाढ २०७०, १८-१९)।
यहाँ किन इतिहासको सन्दर्भ जोड्नु आवश्यक रह्यो भने गोर्खालीहरूसँग किरातीहरूले युद्ध लड्नुपरेको इतिहास केवल साढे दुई सय वर्षअघिको हो। तर, यस समुदायले खुवालङ पार गरेर उत्तरतर्फको उर्वर भूमिमा प्रवेश गरेको मिथक दशौं हजार वर्षअघिको हो। नाटकमै कृषि युगमा प्रवेश गरेको केही समयमै खुवालङ तरेको देखाइएको छ। अनुसन्धानहरूले प्रमाणित गरेका छन् कि मानव समुदायले कृषि युगमा प्रवेश गरेको कम्तीमा १० हजार वर्ष नाघेको छ। ‘साढे दुई सय वर्षअघिको इतिहास दशौं हजार वर्षअघिको मिथकमा गएर कसरी मिसिन पुग्यो ?’ प्रश्न जरुर जन्मन्छ।
नाटकलाई मात्रै सन्दर्भ मान्ने हो भने नदीमा कुँवरसँगै हाङ्छमाको मृत्यु हुनु स्वाभाविक छ, किनभने बैरीले कुनै दिन आफैंलाई नाश गर्छ नै भन्ने त्यसअघि नै प्रशस्त संकेत दिइएको हुन्छ। अझ दास बन्न राजी भएको कुँवरको हाङ्छमालाई रानी बनाउँछु भन्ने अभिव्यक्तिले बैरीले मौका मात्रै हेरिरहेको हुन्छ भन्ने प्रस्ट्याएकै हुन्छ। तर, यस नाटकको स्रोत खुवालुङको मिथक भएकाले घटनाक्रमहरू खुवालुङको सन्दर्भसँग नमिल्नु दुखद हो।
खुवालुङ तर्दा किरातइतरको कुनै समुदाय त्यस गणको साथमा थिएनन्। तर, नाटकमा खुवालुङ तर्दा कुँवर पनि साथैमा हुन्छन्। नाटकमा यो दृश्य कसरी राखियो ? खुवालुङ तर्दा किराती चेलीको नदीमा बगेर मृत्यु भएको थियो ? कतिपय खोलाका कहावतमा अपवित्र व्यक्तिका लागि खुवालुङ खुल्दैन भनिन्छ। के कुँवर अपवित्र थिए ? यदि हो भने कसरी ? हाङ्छमा पनि अपवित्र थिए ? यदि हो भने कसरी ? जवाफ गम्भीर रूपमा खोजिनुपर्ने भएको छ।
सर्वाधिक दर्शक पाउने नाटकहरूमध्ये सम्भवतः खुवालुङ अग्रस्थानमा छ। लेखक राजन मुकारुङका अनुसार यस नाटकको दर्शक बढीभन्दा बढी राजनीतिक वृत्तका छन्। समग्र राजनीतिलाई हेर्ने हो भने अधिकांश दोस्रो पुस्ताका नेताले नाटक हेरेका छन्।
किराती समुदायलाई मात्रै हेर्ने हो भने पहिलो पुस्ताका अधिकांश नेताले नाटक हेरेका छन्। राजनीतिक मात्रै नभएर किराती समुदायका अधिकांश अग्रजले नाटक हेर्न भ्याएका छन्। तर, नाटकमा इतिहास र मिथकको घटनाक्रमलाई गलत रूपले प्रस्तुत गरिएकोबारे कसैले प्रश्न गरेनन्।
प्रश्न किन गर्न जरुरी छ भने साढे दुई सय वर्षअघिको इतिहासलाई दर्शकमाझ दशौं हजार वर्ष अघि भएको भनी सम्प्रेषण गरिएको छ। अथवा इतिहास थाहा पाउनेहरूले खुवालुङको कथा साढे दुई सय वर्षअघि मात्रै सुरु भएको रहेछ भनेर बुझ्ने भए।
किराती बाहेकका समुदायले खुवालुङको मिथकबारे उतिसारो जानकारी नराख्नु अस्वाभाविक छैन। तर, आफैंले मान्दै आएको मुन्दुममा हरेक पटक आउने ‘खुवालुङ’बारे ज्ञान नहुनु किराती नेता र अग्रज व्यक्तित्वहरूको प्राज्ञिकतामाथि प्रश्नचिन्ह हो।
धेरै नेताले त खुवालुङबारे आफूलाई थाहा नभएको र नाटकले प्रस्ट्याएको अभिव्यक्ति समेत दिए। त्यसो त नाटकलाई जति दर्शकले हेरे र वरिपरिकाहरूलाई सम्प्रेषण गरे– ती सबैले खुवालुङको कालखण्डबारे गलत ज्ञान प्राप्त गरे।
माथिका घटनाक्रमहरूमा गल्ती भेट्टाउनुमा नाटकको लेखक र पंक्तिकार हुर्किएको भूगोलको भूमिका हुन सक्छ। कथा/मिथक एउटै भएर पनि यसलाई खालिङ खोलामा अर्कै सुनाइएको, बान्तवा खोलामा अर्कै सुनाइएको हुन सक्छ। अकाट्य कुरा के हो भने गोर्खालीसँग किरातीले युद्ध लडेकै हो, साढे दुई सय वर्षअघि। र किरातीहरूले खुवालुङ पनि तरेकै हुन्, तर दशौं हजार वर्षअघि।
सायारेम्मा
युवा निर्देशक किरण चाम्लिङको निर्देशकीय क्षमता यस नाटकबाट थप प्रमाणित भएको छ। पशुपति राई, मनहाङ लावती, सुरज यादव, अनु थापा, इंगी होपो कोइंच सुनुवार, बेदना राई, रोशनी स्याङ्बो, दीपा सुहाङलगायत कलाकारहरूको अभिनयले दर्शकको दिमागलाई एकाग्र बनाउँछ। अधिकांश कलाकारहरूको अनुहार स्टेजमा नयाँ भए पनि नाटकमा अर्को भरोसिलो ब्याचको इन्ट्री भएको विश्वास लिन सकिन्छ।
नाटकको अन्त्यमा हजारौं वर्षदेखि बाढी, नदीको बहाव केहीले बगाउन/ढलाउन नसकेको खुवालुङलाई कसैले फोड्ने भनेकाले खुवालुङको शिर उठाइन्छ। हो, आ-आफ्नो स्थानबाट सबैले खुवालुङको सायारेम्मा गरौं। सायारेम्।
प्रतिक्रिया 4