
काठमाडौं । विजय देवरकोन्डा र अनन्या पाण्डे स्टारर भारतीय फिल्म ‘लाइगर’ नेपालमा समेत बिहीबार प्रदर्शन हुँदैछ ।
विदेशी फिल्म बिहीबार नै आउने भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार रिलिज हुन लागेका फिल्मका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै गर्न आग्रह गरे ।
‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक दिनेश राउतलाई फोन गरेर अध्यक्ष केसीले बिहीबार नै फिल्म रिलिज गर्न आग्रह गर्दै यसका लागि सहयोग गर्न बोर्ड तयार रहेको बताए । तर भुवनको यो आग्रहलाई दुवै फिल्मका निर्माताले अस्वीकार गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारीले शुक्रबार नै फिल्म आउने बताए ।
‘आग्रहको लागि भुवन केसीज्यूलाई धन्यवाद । तर हामी दर्शकलाई भ्रममा राख्न चाहँदैनौं र शुक्रबार नै फिल्म प्रदर्शन हुन्छ,’ उनले भने, ‘हामी बुधबार प्रिमियर र बिहीबार लाइभ अन्तरक्रिया कार्यक्रमको तयारीमा छौं ।’
‘राधा’का निर्देशक थापाले पनि शुक्रबारको रिलिजबाट आफूहरु तलमाथि नहुने बताए । ‘बिहीबार भनेको अघिल्लो साता रिलिज भएका कृष्णलीला, माइकल अधिकारी र प्रेमगञ्जको समय हो । हामीले उछिन्नु हुँदैन,’ उनले भने ।
विदेशी फिल्म जुनसुकै समयमा रिलिज हुन पाउने, तर नेपाली फिल्मलाई शुक्रबारे रिलिजको बन्देज तोकिएको भन्दै टिप्पणी भएपछि भुवनलाई रिलिजको सन्तुलन मिलाउन दबाब थियो ।
अन्ततः ‘लाइगर’ बिहीबार तथा ‘राधा’ र ‘प्रकाश’ शुक्रबार नै रिलिज हुनेछन् ।
प्रतिक्रिया 4