७ भदौ, काठमाडौं । सन् २०१६ मा नेपालमा पहिलो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिप आयोजना भएको थियो । त्यतिबेला बलियो टिम भारतले सहभागिता नजनाए पनि नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बन्यो ।
पाँच टिम सहभागी राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश, माल्दिभ्स र भुटानलाई हराएको थियो ।
सन् २०१९ डिसेम्बरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाली महिला टिम उपविजेता बन्दै रजत जित्न सफल भयो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
साबा र सागमा दोश्रो हुनु नै नेपाली महिला बास्केटबलको अहिलेसम्मको ठूलो सफलता हो ।
पहिलो साबा खेलेको ६ वर्षपछि र सागमा रजत जितेको तीन वर्षपछि नेपाली महिला टिम अन्तर्राष्ट्रिय कोर्टमा उत्रिने तयारीमा छ ।
अर्को महिना माल्दिभ्समा दोस्रो दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपको तयारीमा रहेका खेलाडीको लक्ष्य छ- पहिलो उपाधि ।
नयाँ र अनुभवी खेलाडीको मिश्रणसहित लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको महिला टिमको लक्ष्य यसपटक जसरी पनि उपाधि जित्ने नै छ । तर त्यसका लागि ठूलो चुनौती पनि छ । त्यो चुनौती पार गर्ने गरी खेलाडीले पसिना बगाइरहेका छन् । प्रशिक्षक विकास शाहीले १६ खेलाडीलाई दैनिक प्रशिक्षण गराइरहेका छन् । यसबाट १२ सदस्यीय अन्तिम टोली केहीदिनमै छनोट गरिने शाहीले जानकारी दिए ।
युवा खेलाडी आगमनले उत्साह
लामो समय अन्तर्राष्ट्रिय खेल नभए पनि पछिल्लो समय राष्ट्रियस्तर र उमेर समूहमा विभिन्न बास्केटबल प्रतियोगिता भइरहेका छन् । जसले गर्दा नयाँ नयाँ खेलाडी कोर्टमा देखिन्छन् ।
राष्ट्रिय टिममै पनि युवा खेलाडीहरुको आगमन हुँदा यसले सबैलाई उत्साहित बनाएको छ । ‘लामो समयपछि प्रशिक्षणमा फर्कँदा उत्साहित छौं,’ अनुशा मल्लले भनिन्, ‘कडा मिहिनेत गरेर हामीले शतप्रतिशत दिनेछौं।’

नयाँ खेलाडीहरुले पनि राम्रो गरिरहेको कप्तान सदिना श्रेष्ठले बताइन्, ‘नयाँ खेलाडीले राम्रो गरिरहेका छन् । जुनियरहरूले हामीलाई नै प्रतिस्पर्धा दिने गरी आइरहेका छन् । तर अनुभव लिन बाँकी छ । उनीहरुलाई हामीले नै बुस्ट गर्ने हो ।’
टिममा सिनियर र जुनियर खेलाडी भए पनि उनीहरूबीच राम्रो समन्वय छ । नयाँ खेलाडीको आगमन नै अहिलेको सबैभन्दा राम्रो पक्ष मान्छन् प्रशिक्षक शाही, ‘अहिलेको राम्रो पक्ष भनेको नयाँ युवा खेलाडी धेरै नै देखिएको छ । एसईई दिएर आएका खेलाडी पनि छन् । यसले पछिसम्मका लागि राम्रो संकेत देखाएको छ ।’
शाहीले नयाँ खेलाडी हुँदा अहिले टिम बिल्डिङमा बढी केन्द्रित रहेको बताए । ‘अहिले मेन फोकस टिम बिल्डिङ नै हो । किनभने यसमा भर्खरको जुनियर र सिनियर खेलाडी पनि छन् । जुनियरको समस्या भनेको स्कुलबाट सिधै माथिल्लो लेभलमा आएका छन्, सुरुमा उनीहरुलाई गाह्रो भए पनि अहिले उनीहरु विस्तारै सहज भइरहेका छन् ।’

१३औं सागमा यू-२३ टिमबाट थ्री अन थ्री खेलेकी गरिशा सिलवाल, मिनु गुरुङ र सोनी वाइबा अहिले सिनियर टिममा छन् । यस्तै रिन्छेन मोक्तान, बिनामनी योन्जन, अमिसा घले र रोशनी श्रेष्ठ नयाँ खेलाडी हुन् ।
जुनियर र सिनयर खेलाडीको मिश्रणले अहिले टिम झन् राम्रो भएको शाहीले बताए । बीचको खाली समयमा पनि खेलाडीले आफैं जिमदेखि अभ्यास गरिरहेकोले फिटनेसमा पनि ठूलो समस्या नभएको र यो राम्रो कुरा रहेको उनले बताए ।
के छ चुनौती ?
कोभिड-१९ को महामारीका कारण २०१९ को सागपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । ‘धेरै पछि खेल्न लाग्दा उत्साह एकदमै छ । उत्साहसँगै चुनौती पनि छ र दबाब पनि छ । तीन वर्षमा टिम कुन स्तरमा पुग्यो थाहा हुँदैन त्यो चुनौती छ,’ कप्तान सदिनाले भनिन, ‘दबाब भनेको पहिला सिल्भर जितेको अहिले गोल्ड नै ल्याउनुपर्छ भन्ने हो ।’
लामो समयपछि खेल्दाको चुनौती एकातिर छ भने मुख्य प्रतियोगिता अघि प्राक्टिस म्याच खेल्न नपाउनु अर्को चुनौती छ । ‘हामीलाई मुख्य चुनौती भनेको म्याच एक्सपिरियन्स छैन । हामीले कहाँ गएर परीक्षण गर्ने त ?’ प्रशिक्षक शाही भन्छन्, ‘स्कुल र प्लस टु मा खेलेका खेलाडी सिधै आएर अन्तर्राष्ट्रिय खेल खेल्दा चुनौती हुन्छ । मैत्रीपूर्ण खेल नहुँदा यही ठूलो चुनौती छ ।’
यसपटक टिममा नयाँ जुनियर खेलाडीको आगमन हुनुले पनि उत्साह बढाएको कप्तान सदिनाले बताइन्, ‘अहिले नियमित जस्तो खेलहरु भइरहेका छन् । सबैले अभ्यास पनि गरिरहेका छन् । जति खेल्यो उति नै निखारिने हो । जुनियर खेलाडीसँग सुरुमा केही गाह्रो भए पनि अहिले कम्बिनेसन राम्रो भइरहेको छ ।’
सन् २०१६ मा नेपालमै साबा खेलेका कप्तान सदिना र अनुशासहित एलिशा मल्ल, श्रेया खड्का र एलिना गुरुङ अहिले पनि टिममा छन् ।
लक्ष्य उपाधि नै
सन् २०१३ देखि सदिनाले कप्तानको जिम्मेवारी लिएकी हुन् । चीनमा भएको थ्री एण्ड थ्री प्रतियोगितादेखि
सदिनाले नेपालको नेतृत्व गर्न थालेको झण्डै एक दशक हुन लागिसकेको छ ।
उनले सागदेखि थ्री एण्ड थ्री विश्व बास्केटबल च्याम्पियनसिपमा समेत खेलिसकेकी छन् । तर सदिनाले मात्र होइन, नेपाली टिमले नै उपाधि उचाल्न सकेको छैन । त्यसैले यसपटक एउटै लक्ष्य उपाधि जित्नु रहेको छ ।
‘मेरो गोल भनेकै नेपालका लागि गोल्डे मेडेल जिताउने हो । ठूलो आश पनि छ । हामीलाई सधैं भारतले नै बाधा पुर्याउने हो’, यसपटक टिम र आफ्नो लागि पनि केही हुन्छ भन्ने आशमा उनी छन् ।

‘भारत ठूलो देश हो । हाम्रो र उनीहरुको लेभलमा धेरै फरक छ । एकदमै च्यालेन्ज हुन्छ । तर यसपटक गोल्ड ल्याउन सक्ने गरी तयारी गरिरहेका छौं । हाम्रो चाहना गोल्डकै हो’, कप्तान सदिनाले भनिन् । पहिलाको भन्दा अझ राम्रो तयारी गर्ने उनले बताइन् ।
‘भारतलाई हराउने वास्तविकता कति छ त ? रियालियास्टिक कुरा गर्दा भारतसँग च्यालेन्ज गर्ने हो । सबैलाई थाहा छ भारतसँग मिट गर्न नेपाललाई गाह्रो छ । तर सक्दैन भन्ने होइन’, सदिनाले भनिन्, ‘गेम हो जे पनि हुन्छ । हामी हार मानेर जाँदैनौं च्यालेन्ज गर्नै जान्छौं । आफ्नो तर्फबाट ट्रेनिङ प्रक्टिस राम्रो गरेर प्रतिस्पर्धा गर्ने हो ।’
महिला टिम दुई पटक उपविजेता हुँदा नै प्रशिक्षक रहेका शाही पनि उपाधि जित्नु ठूलो चुनौती रहेको स्वीकार्छन् । दक्षिण एसियामा भारत एउटा लेभलमा र अरु टिम एउटा लेभलमा रहेको उनको बुझाइ छ । ‘हामीलाई चुनौती नै छ । यो क्षेत्रमा भारतपछि कोही यो नै टिम जित्छ भन्ने छैन । सबै १९-२० नै छन् ।’
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4