+

निलम्बनमा पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

२०७९ भदौ  ७ गते १६:५४ २०७९ भदौ ७ गते १६:५४
निलम्बनमा पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

७ भदौ, काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले आफूमाथि लागेको निलम्बनबारे पुनर्विचार गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई आग्रह गरेको छ ।

तेस्रो पक्षको हस्तक्षेप रहेको भन्दै एक हप्ताअघि फिफाले एआईएफएफलाई निलम्बन गरेको थियो । एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरले फिफा महासचिव फातमा समौरालाई पत्र लेख्दै एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

फिफा महासचिवलाई लेखेको पत्रमा धरले सर्वोच्च अदालत समक्ष मुद्दाको अद्यावधिक उपलब्ध गराउँदै भनेका छन्, ‘हामी तपाईंलाई यो जानकारी गराउन चाहन्छौं कि भारतको सर्वोच्च अदालतले अगष्ट २२ मा आदेश जारी गरी अदालतले बनाएको समिति पूर्ण खारेज गर्‍यो । साथै एआईएफएफले एआईएफएफको दैनिक मामिलाको पूर्ण जिम्मेवारी लिएको छ ।’

पत्रमा धरले फिफा र फिफा ब्युरो काउन्सिललाई निलम्बन बारे पुनर्विचार गर्न आग्रह गरेका छन् । ‘हामी फिफा र विशेष गरी ब्यूरोलाई एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौं । निलम्बन फुकुवाका लागि तपाईंको पत्रमा उल्लेख गरिएका सर्तहरू सन्तुष्ट भएकाले एआईएफएफलाई भारतमा फुटबल जारी राख्नलाई जतिसक्दो चाँडो अनुमति दिन अनुरोध गर्दछौं,’ पत्रमा थप भनिएको छ ।

एआईएफएफको कार्यसमितिका लागि सेप्टेम्बर २ मा एआईएफएफको हेडक्वाटर दिल्लीमा निर्वाचन पनि तय भएको छ ।

सर्वोच्च अदालतले समिति खारेज गर्दै निर्वाचन एक साता पछि गर्नका लागि फिफासँग आग्रह गरेको छ । निर्वाचनका लागि अगष्ट २५ देखि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

भारतीय फुटबल महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय