
७ भदौ, काठमाडौं । नयाँ भन्सार बिन्दु काठमाडौंको चोभार सुख्खा बन्दरगाहबाट चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा करिब ३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनाको तथ्यांक अनुसार साउन महिनामा २ करोड ९६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
भन्सार विभागका अनुसार यस भन्सारबाट साउन महिनामा ३३ लाख ८ हजारु रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । आयात भने २ करोड ६३ लाख ९३ हजार रुपैयाँ बराबरको भएको छ ।
उता, अर्को नयाँ भन्सार बिन्दु भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साउनमा ५ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात भने शून्य भएको छ । यसअघि जेठ र असारमा भने यो भन्सार बिन्दुबाट वैदेशिक व्यापार हुन सकेको थिएन ।
नेपालमा हवाईमार्गबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र वैदेशिक व्यापारको बिन्दु रहेकोमा अब भने भैरहवा समेत थप भएको छ ।
त्रिभुवन विमानस्थलबाट भने ३ अर्ब १६ रकरोड रुपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको २१.३७ प्रतिशत हो । आयात भने १२ अर्ब ७६ करोड रुपैयाँ बराबरको भएको छ । यो कुल आयातको ९.७३ प्रतिशत हिस्सा हो ।
प्रतिक्रिया 4