+
+
कृषि मन्त्रालयको १५औं योजनाको तथ्यांक :

प्रमुख कृषि उपजको उत्पादकत्व वृद्धि निराशाजनक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते २०:००
फाइल तस्वीर

७ भदौ, काठमाडौं । कृषि उपज आयातको आकार बढिरहेका बेला प्रमुख कृषि बाली उपजको उत्पादकत्व वृद्धि भने निराशाजनक रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको १५औं योजनाको हालसम्मको तथ्यांकले प्रमुख कृषि बाली उपजको उत्पादकत्व वृद्धि निराशाजनक रहेको देखाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार धान, मकै, गहुँ, तरकारी, आलु र फलफूल जस्ता प्राथमिक बालीको उत्पादकत्व वृद्धिको लक्ष्य निराशाजनक देखिएको हो ।

केही उपजको उत्पादकत्व त आधार वर्षहरुमा भन्दा पनि तल झरेको तथ्यांकले देखाएको छ ।
सरकारले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्ष मानेर २०८०/८१ सम्म कृषि उपजमा आत्मनिर्भरताका लागि उत्पादकत्वको झण्डै दोब्बर वृद्धिको अभियान थालेको थियो । जसमध्ये लक्ष्यको तेस्रो वर्ष माछा, दूध, मासु र अण्डामा उत्पादन प्रगति लक्ष्यउन्मुख भए पनि अन्य उपजमा भने सन्तोषजनक नतिजा नदेखिएको हो ।

मन्त्रालयकाअनुसार उत्पादकत्व वृद्धि अभियानको तेस्रो वर्षसम्म धानको उत्पादकत्व ३.४७ मेट्रिकटन प्रतिहेक्टर छ । जुन आधार वर्ष २०७५/७६ को भन्दा पनि कम हो । सो वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व ३.७६ मेट्रिकटन थियो । गत आवको मसान्तसम्म प्रतिहेक्टर उत्पादकत्व मकै ३.१५, गहुँ २.९९, तरकारी १४.७४, आलु १७.६० र फलफूलको १०.९१ मेट्रिकटन मात्रै छ । योजना अवधि सकिन दुई वर्ष मात्रै बाँकी रहँदा प्रमुख बालीको उत्पादकत्व लक्ष्य पुगेको छैन ।

लक्ष्य वर्ष आव २०८०/८१ सम्म प्रतिहेक्टर उत्पादकत्व धानमा ४.५, मकैमा ४, गहुँमा ३.५, तरकारीमा २०, आलु २२ र फलफूल १२ मेट्रिकटन थियो । आधार वर्ष घोषणा हुँदा २०७५/७६ मा प्रतिहेक्टर उत्पादकत्व धानमा ३.७६, मकैमा २.८४, गहुँमा २.८५, तरकारीमाको १४.३७ , आलुको १६.५ र फलफूलको ९.८१ मेट्रिकटन थियो ।

यस्तै आयोजनाले प्रमुख बालीहरुको बिउ प्रतिस्थापन दर ५ वर्षम १६ प्रतिशतबाट बढाएर २५ पुर्‍याउने भनिए पनि तेस्रो वर्षसम्म यस्तो उपलब्धि २१.९१ प्रतिशत मात्रै छ ।

उत्पादकत्व वृद्धिको पन्ध्रौ योजनाको लक्ष्य बमोजिम माछा–मासु, खोप र नश्ल सुधारमा प्रगति देखिएको छ ।

मन्त्रालयका अनुसार माछा, दूध, मासु, अण्डा, पशु चौपायमा खोप सेवा, पशु र पन्छीका लागि खोप उत्पादन र नश्ल सुधारका लागि कृत्रिम गर्भाधानमा अभियानको तेस्रो वर्षको लक्ष्य भन्दा पनि बढी प्रगती भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने लक्ष्यको अन्तिम वर्षसम्म उत्पादकत्व लक्ष्य पूरा हुने दाबी गरेको छ । अन्य सबै कुरामा सकारात्मक सुधार देखिए पनि बेमौसमी वर्षाका कारण धानमा भने लक्ष्य भन्दा उत्पादकत्व कम रहेको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘लक्ष्य प्राप्त गर्न अझै दुई आर्थिक वर्ष बाँकी छ,’ प्रवक्ता सञ्जेल भन्छन्, ‘वर्षहरु सामान्य रहे हामीले लक्ष्य पूरा गर्ने छौं ।’ विगतमा पनि कुनै वर्ष नतिजा राम्रो भए पनि कुनै वर्षमा भने अपेक्षाअनुसारको नतिजा नआएको मन्त्रालयले जनाएको छ ।

उत्पादकत्व वृद्धि अभियानका लागि ५ वर्षम सरकारी तवरबाट मात्रै ५० अर्ब लगानी गर्ने भनिएकोमा तेस्रो वर्षमै सो हाराहारी रकम लगानी भइसकेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?