८ भदौ, काठमाडौं । विश्व कीर्तिमानी ओलम्पिक धावक युसेन बोल्टले आफ्नो सेलेब्रेसन पोजलाई ट्रेडमार्कमा दर्ता गराएका छन् ।
पूर्व ओलम्पिक र १०० मिटर च्याम्पियन बोल्टले आफ्नो परिचित सेलेब्रेसन पोजलाई अब लोगोको रुपमा तयार पार्न लागेका हुन् ।
उनले आकाशतिर औंला देखाएको पोजलाई व्यवसायिक प्रयोजनका लागि लोगोमा राख्न गत साता अमेरिकामा आवेदन दर्ता गरेका छन् । ‘चिह्नमा एक व्यक्तिको विशिष्ट पोजमा रहेको सिल्हूट समावेश छ, एउटा हात बंग्याएर टाउकोतिर देखाइएको र अर्को हात उठाएर माथितिर देखाइएको छ,’ ट्रेडमार्क आवेदनमा उल्लेख गरिएको छ ।
उनले लुगा, सनग्लास, गहना, ब्याग, रेस्टुराँ र ट्रयाक एण्ड फिल्ड सामग्रीमा उक्त लोगो प्रयोग गर्ने तयारी गरेका छन् ।
१०० मिटर र २०० मिटरमा कीर्तिमानी खेलाडी बोल्ट विश्वकै फास्टेस्ट म्यान (सबैभन्दा छिटो कुद्ने व्यक्ति) हुन् । ३६ वर्षीय जमैकन स्प्रिन्टर बोल्टले सन् २००८ देखि २०१६ सम्म ओलम्पिकमा ८ स्वर्ण पदक जितेका थिए ।
उनले सन् २०१७ मा लण्डन वर्ल्ड च्याम्पियनसिपपछि एथ्लेटिक्सबाट सन्यास लिएका थिए । बोल्टले वर्ल्ड च्याम्पियनसिपमा ११ स्वर्ण जितेका छन् ।
यस्तै १०० र २०० मिटरमा बोल्टको नाममा विश्व कीर्तिमान छ । उनले १०० मिटरमा सन् २००९ मा जर्मनीमा भएको वर्ल्ड च्याम्पियनसिपमा ९.५८ सेकेण्डको कीर्तिमान बनाएका थिए । यस्तै २०० मिटरमा पनि सोही च्याम्पियनसिपमा १९.१९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया 4