+

सर्वाधिक पुरस्कार राशिको स्नुकर च्याम्पियनसिप हुँदै

२०७९ भदौ  ८ गते १९:२२ २०७९ भदौ ८ गते १९:२२
सर्वाधिक पुरस्कार राशिको स्नुकर च्याम्पियनसिप हुँदै

८ भदौ, काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघको आधिकारिक कार्यक्रम हो ।

भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हुनेछ ।

प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रवन्ध सबै नेपाल स्नुकर तथा पूल संघले गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले अनलाइनखबरलाई बताए ।

दुई वर्षअघि आयोजित पहिलो संस्करणमा ४३ जिल्लाका खेलाडी सहभागी थिए ।

१४७ ब्रेक प्वाइन्ट ल्याए १० लाख पुरस्कार

स्नुकर खेलमा १४७ ब्रेक प्वाइन्ट सबैभन्दा धेरै हो । १५ रातो र १५ कालो बल लगातार होलमा छिराएर त्यति अंक ल्याउनु अविश्वसनीय मानिन्छ । त्यसैलै आश्चर्यजनक नतिजा निकाल्नेलाई १० लाख रुपैयाँको आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विश्वस्तरमा पनि यो सफलता सीमित खेलाडीले मात्र पाएका छन् ।

संघका अध्यक्ष मुल्मीका अनुसार अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले १४७ ब्रेक प्वाइन्ट ल्याउन सकेका छैनन् । हालमा नेपाल नम्बर एक रेगन श्रेष्ठले बुधबारै १४० ब्रेक प्वाइन्ट ल्याएर कीर्तिमान बनाएको उनले जानकारी दिए ।

त्यसैगरी सेन्चुरी ब्रेक अर्थात १०० भन्दा बढी ब्रेकप्वाइन्ट ल्याउने खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा ८० भन्दा बढी ब्रेक प्वाइन्ट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाउने बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, राइजिङ खेलाडी र अनुशासित खेलाडीलाई जनही ११ हजार तथा क्वाटरफाइनलमा पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ । आयोजककै बोर्डमा हुने प्रतियोगिताका लागि खेलाडीले ३ हजार रुपैयाँ दर्ताशुल्क बुझाउनुपर्नेछ ।

स्नुकर प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय