
८ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विवादास्पद अभिव्यक्ति दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गर्ने अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘ धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागु गरिनेछ !’ उनको यो धम्कीपूर्ण भाषाप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
उनीहरुले श्रमदान नगरेकै कारण बालबालिकालाई उत्तीर्ण नहुने नियम लागू गराउने धम्की दिएर बालबालिकामाथि मानसिक तनाव नदिनसमेत मेयर साम्पाङलाई सुझाव दिएका छन् ।
यस्तै मेयर साम्पाङले अर्को स्टेटस लेख्दै धरान नगरको विकासको लागि कक्षा ९, १०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा वर्षको ७ दिन सकेको श्रम गर्नुपर्ने बताएका छन्। उनले त्यसलाई श्रम, सरसफाइ, वृक्षरोपणलगायत जे पनि हुन सक्ने औल्याएका छन् ।
लगत्तै मेयर साम्पाङले फेरि अर्को स्टाटस लेख्दै माटो नछुनेले माटो बेचेर सकाउने भन्दै अहिलेको शिक्षाले आश्वासन दिएर परनिर्भरता बनाएको बताए ।
उनले भनेका छन्, ‘माटो नछुनेले माटो बेचेर सकाउँछन् । आजको शिक्षाले हामीलाई सिसाको अफिसमा दिने आश्वासन दिएर गोलभेडा, आलु र प्याज समेत भारतबाट किनेर खाने गरी कंगाल बनायो ।’
यता, धरान उप-महानरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराईले भने बालबालिकाको श्रमदान सम्बन्धी नीति बनाउने तयारी नरहेको बताए ।
उनले अनलाइनखबरसँय भने, ‘बालबालिकाले दिनुपर्ने श्रमदान सम्बन्धी नीति बनाउने तयारी त भएको छैन । मेयर ज्यूले हामीलाई केही भन्नुभएको छैन । अब भन्नुहोला कि ।’
प्रतिक्रिया 4