+

मनवीर छन्त्यालले भलिबल संघको महासचिवमा उम्मेदवारी दिने

२०७९ भदौ  ९ गते १६:४१ २०७९ भदौ ९ गते १६:४१
मनवीर छन्त्यालले भलिबल संघको महासचिवमा उम्मेदवारी दिने

९ भदौ, काठमाडौं । नेपाल भलिबल संघका वर्तमान सचिव मनवीर छन्त्यालले आसन्न निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बाल्यकालदेखि भलिबलमा लागेको र नेपाली भलिबललाई व्यवसायिकताको सुरुवात गरेको दावी गर्दै छन्त्यालले आगामी चार वर्ष नेपालको भलिबल विकासका लागि आफ्नो परीक्षण गर्न भलिबलवृतलाई अनुरोध गरेका छन् ।

ढोरपाटन भलिबल क्लबका अध्यक्षसमेत रहेका छन्त्यालले २०६१ सालदेखि ढोरपाटन महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सुरुवात गरेका थिए । निजी क्षेत्रबाट आयोजना भएको यो पहिलो व्यवसायिक प्रतियोगिता रहेको क्लबको दावी छ ।

महासचिवमा उम्मेदवारी घोषणा गर्दा छन्त्यालले नेपाली भलिबललाई व्यवसायिक बनाउने, १२ महिना राष्ट्रिय टिम तयार अवस्थामा राख्ने, राष्ट्रिय र क्षेत्रीयस्तरको प्रतियोगिता वर्गीकरण गरी आयोजना अनुमति दिने, उमेरसमूहको राष्ट्रिय टिममा ध्यान दिनेलगायतका एजेण्डा पेश गरेका छन् ।

‘म स्कुल जीवनदेखि नै भलिबलमा समर्पित छु । अहिले ५४ वर्षको उमेरमा आर्थिक रुपमा सक्षम र पारिवारिक रुपमा सम्पन्न भएपछि अबको बाँकी जीवन पूर्णतः भलिबलमा समर्पित गर्ने सोचेको छु,’ विहीबार पत्रकार सम्मेलनमा छन्त्यालले भने, ‘संघको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरु पूर्णकालीन हुनुपर्छ भन्ने मेरो धेरै अगाडिदेखिको मान्यता हो ।’

युवा खेलाडीमाझ राष्ट्रिय खेल भलिबलको विस्तारका लागि युथ फेस्टिभल सन्चालन गर्ने, नयाँ खेलाडी उत्पादनका लागि विद्यालयसँग सहकार्य गर्ने योजना छन्त्यालले सुनाए । भलिबल संघले हालै विधान संशोधन गरी देशभरका सबै स्थानीय तहमा कमिटी विस्तार गर्दैछ । अब स्थानीय तहदेखि नै भलिबल अभियानलाई चुस्तता दिइने छन्त्यालको योजनामा परेको छ ।

‘हरेक प्रदेशमा मुख्यमन्त्री कप भलिबलको आयोजना गर्नुपर्छ । रोकिएका पुराना प्रतियोगितालाई निरन्तरता दिनुपर्छ । महिला र पुरुषका गरी वर्षभरि कम्तिमा २४ वटा प्रतियोगिता आयोजना हुँदा खेलाडीले पर्याप्त एक्स्पोजर पाउनेछन्,’ छन्त्यालले पत्रकार सम्मेलनमा भने ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्त्याल २०६९ सालमा बागलुङ जिल्ला भलिबल संघको प्रतिनिधिका रुपमा भलिबल संघको केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका थिए । २०७३ सालमा भएको पछिल्लो निर्वाचनमा उनी सचिव पदमा निर्वाचित भएका थिए ।

भलिबल संघको केन्द्रीय कार्यसमिति निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ । महासचिव पदका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । यसअघि वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

मनवीर छन्त्याल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय