
९ भदौ, पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि २४ र २५ भदौमा अधिवेशन हुँदैछ । अधिवेशनका लागि हालका उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेल र वरिष्ठ उपाध्यक्ष पवन प्रजापति प्यानलै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
पोखरेलले यसअघि २२ साउनमा पत्रकार सम्मेलन गर्दै आसन्न निर्वाचनमाविना प्यानल नै अध्यक्ष उठ्ने घोषणा गरेका थिए । ६ भदौमा उनले प्यानलसहित अध्यक्ष घोषणा गरेका थिए ।
अध्यक्षमा प्यानलसहित भिड्न लागेका दुवैजना नेपाली कांग्रेस निकटमात्रै मानिंदैनन्, लामो समय एकै समूहमा रहेर संघको कार्यसमितिको अनुभव लिइसकेका छन् । तर, ३४ औं अधिवेशमा दुवै अलगमात्रै भएनन्, प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यसअघिका ४ वटा उद्योग वाणिज्य संघका चुनावमा एउटै प्यानलमा थिए ।
६ भदौमा पवनले गरेको पत्रकार सम्मेलनमा यस पटक पनि अर्जुनलाई आफ्नै प्यालनमा समेटेर आफूले नेतृत्व लिने योजना बनाए पनि त्यसमा सहमति जुट्न नसकेको बताएका थिए ।
‘अध्यक्षलगायत सबै पदमा सर्वसम्मति गर्ने भन्ने थियो । त्यसका लागि पूर्वअध्यक्षसहित वार्ता पनि बसियो,’ उनले भनेका थिए, ‘तर, वार्तामा बस्दा सहमति जुट्न सकेन । त्यही भएर छुट्टै प्यानल घोषणा गर्नुपर्यो ।’
व्यवसायीका अनुसार सुरुमा अर्जुन पोखरेलले आफू वरिष्ठ उपाध्यक्ष पदमा रहेर अध्यक्षमा प्रजापतिलाई स्वीकार्न तयार भएका थिए । तर, प्रजापतिले वरिष्ठमा अर्को व्यक्तिलाई बनाउने भएपछि उनी बिच्किएका हुन् । स्रोतका अनुसार केही पूर्वअध्यक्षहरुको सल्लाहअनुसार वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीलाई अघि सारेपछि अर्जुन पवनसँग टाढिएका हुन् ।
पोखरेलले आफू वरिष्ठ उपाध्यक्ष निर्विरोध हुनुपर्ने नभए सोही पदमा आफ्नो प्रतिद्वन्द्वी कार्की नहुनुपर्ने माग राखेका थिए । तर, उक्त माग सम्बोधन गर्न प्रजापति समूह तयार भएन । प्रजापतिले घोषणा गरेको प्यानलमा समेत वरिष्ठ उपाध्यक्षमा कार्कीलाई नै अघि सारेका छन् । उनले सदस्यहरुको नाम भने घोषणा गरेका छैनन् । ‘उम्मेदवारी दर्ता गर्दासम्म सदस्यहरुको टुंगो लागिसक्छ’ उनले भने ।
प्रजापतिले वरिष्ठ उपाध्यक्षमा अघि सारेका कार्की र अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेल अघिल्लो अधिवेशनमा फरकफरक समूहबाट चुनावी मैदानमा उत्रिएका थिए । कार्कीले उद्योगतर्फको उपाध्यक्षमा पदमा प्रजापति समूहकै उम्मेदवार चिनु गुरुङलाई हराएका थिए । आफ्नै प्यानलका उम्मेदवारलाई पराजित गर्ने फरक प्यानलका कार्कीलाई अहिले प्रजापतिले वरिष्ठ उपाध्यक्ष दिने भएपछि पोखरेल असन्तुष्ट बनेका हुन् ।
यता, अधिवेशन भन्दा एक महिना अघि नै अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका पोखरेलले आफूले कुनै बार्गेनिङ नगरेको र प्यानल पनि नबनाउने दाबी गरेका थिए । प्यानल बनाउँदा राजनीति घुस्ने भन्दै उनले भनेका थिए, ‘मेरो उम्मेदवारी कुनै बार्गेनिङ होइन । प्यानल पनि बनाउँदिन । प्यानल बनाउँदा राजनीति घुस्छ । चुनाव एक्लाएक्लै लड्ने हो ।’
तर, पोखरेलले पनि बिहीबार आफ्नो प्यानलनै घोषणा गरेका छन् । उनले अर्को समूहले आफ्नो टिम बनाउँदा संघको नेतृत्व लिन सक्ने सक्षम व्यवसायीलाई छुटाइएकाले घोषणा गर्नुपरेको दाबी गरे । ‘पछि सहमति खोज्दा पनि सबैलाई निषेध गरियो । निषेधको राजनीति गरिएपछि प्यानल घोषणा गर्न बाध्य भयौं,’ उनले भने, ‘अनुभवी र सक्षम साथीहरु पनि छुट्नुभयो ।’

प्यानल घोषणा गर्दै अध्यक्ष प्रत्याशी प्रजापतिले पोखरेल अझै सहमतिमा आउन चाहे आफूहरु मिल्न तयार रहेको बताएका थिए । तर, पोखरेलले भने त्यो सम्भावना अब नरहेको बताएका छन् ।
अध्यक्ष प्रत्याशी प्रजापति संघको २ पटक कार्यसमिति सदस्य र कोषाध्यक्ष, उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा एक/एक कार्यकालको अनुभव लिइसकेका छन् । अर्का प्रत्याशी पोखरेलसँग कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव उपाध्यक्षमा एकएक कार्यकालको अनुभव छ ।
को-को छन्, प्रजापति प्यानलमा ?
- अध्यक्ष : पवनकुमार प्रजापति
- वरिष्ठ उपाध्यक्ष : गोकर्ण कार्की
- उद्योग उपाध्यक्ष : हिरामणि पण्डित
- वाणिज्य उपाध्यक्ष : उत्तममान बुद्धाचार्य
- महासचिव : बलराम आचार्य
- कोषाध्यक्ष : दिनेशचन्द्र बास्तोला
- उपमहासचिव : शोभा गौतम
को-को छन्, पोखरेल प्यानलमा ?
- अध्यक्ष : अर्जुनकुमार पोखरेल
- वरिष्ठ उपाध्यक्ष : हरिहर सापकोटा
- उद्योग उपाध्यक्ष : देवेन्द्र केसी
- वाणिज्य उपाध्यक्ष : कुमारीमुना बास्तोला
- महासचिव : केशवबहादुर खत्री
- कोषाध्यक्ष : हरिराज पन्त
- उपमहासचिव : हर्कबहादुर अधिकारी
सदस्यहरु : भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दीलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी ।
प्रतिक्रिया 4